आज विश्व धुम्रपानरहित दिवस
SamacharDesk – राम डंगोल | २०७९ जेठ १७, मंगलबार

आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट हुने क्षति न्यूनिकरण गर्ने र यस्ता सूर्तीजन्य पदार्थको नियन्त्रण गर्ने रहेको छ ।
यसलाई नियन्त्रण तथा प्रयोगमा कमी ल्याउन नेपाल सरकारले पनि हरेक वर्ष यस्ता वस्तुहरुमा करमा वृद्धि गरी प्रयोगमा निरुत्साहित गर्ने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ ।
नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।
सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले धूम्रपान तथा सूर्तीजन्य पदार्थबाट हुने महामारी र यसको कारण हुने मृत्युबारे जनचेतना जगाउने उद्देश्यले विश्व धु्रम्रपान दिवस मनाउन थालिएको हो ।
चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ ।
गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय