काठमाडौंका भित्री वस्तीमा फुटपाथ पसल–समस्या र चुनौती
SamacharDesk – बिराज | २०७७ आषाढ १९, शुक्रबार

चन्द्र कुमार महर्जन, काठमाडौंको प्राचीन वस्ती किलागलका स्थायी वासिन्दा उनी स्थानीय स्टार क्लबका अध्यक्ष समेत रहेका छन् । स्थानीय समस्या समाधानका लागि, समाजका विभिन्न कार्यक्रम गतिविधिहरुमा उनी जहिल्यै अग्रसर रहन्छन् ।
किलागल टोलमै जन्मे, हुर्केका उनी हुनतः आफ्नो टोललाई औधी माया गर्छन् । तर केही समय अघि मात्रै जन्मटोल छोडेर अन्तै बस्न जाने कि भन्ने सोच बनाइसकेका थिए उनले ।
यो उनको रहर थिएन, वाध्यता थियो । सधैं जसो भीडभाड भइरहने किलागललाई त्यहाँका फुटपाथ पसलहरुले झनै अव्यवस्थित बनाएको थियो ।
किलागल मात्र होइन, काठमाडौंका भित्री वस्तीका प्राय सबै ठाउँको अवस्था यस्तै छ । घरबाट निस्किनसम्म पनि समस्या, हिँड्डुल गर्न त्यत्तिकै समस्या । आफ्नो घरबाट मोटरसाइकल एउटा निकाल्नसम्म पनि पसिना पसिना भइने ।
बाटैमा राखिने त्यस्ता फुटपाथ पसलले बाटो छेकिने मात्र होइन, बाटो छोडिदिन अनुरोध गर्दा पनि नानाथरी सुनाउने पीडा पनि योसँगै छ ।
यस्ता समस्याका बीच चन्द्रलाई यहाँको भित्रि वस्ती नै छोडेर जाउँ जस्तो भइसकेको थियो ।
यस्ता समस्या झेलिरहेका चन्द्र एक्लै होइनन्, उनी त प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौंको भित्री वस्तीमा वसोवास गर्दै आएका सबैले नै दिनहुँ भोग्दै आएको समस्या हो यो ।
यस्तै समस्याका कारण यहाँका थुप्रै स्थानीयले आफ्नो पुख्र्यौली घर छोडीसके । कति ले त पुर्ख्यौली घर बेचेर सदाका लागि यो ठाउँ छोडेर गइसके ।
अझ अहिले महामारीको अवस्थामा यहि फुटपाथ पसलका कारणले हुने भीडभाड, ट्राफिक जाम आदिको कारणले संक्रमणको जोखिम पनि बढेको छ ।
आफु पनि पुर्ख्यौली घर छोडेर यहाँको भित्री वस्तीबाट निस्किने सोचिरहेका चन्द्रले यो सब कुरा सम्झे र सोच्न थाले, ‘सबैले आफ्नो पुरानो ठाउँ छोड्दै जाने हो भने समस्याको समाधान कसले गर्ने ?’
त्यसपछि उनले समस्याबाट भाग्ने होइन, समस्या समाधान गर्ने सोचे र जुटे फुटपाथ पसल हटाउ अभियानमा ।
अचेल काठमाडौंको भित्री वस्तीमा राखिने अव्यवस्थित फुटपाथ पसल हटाउन जागरुक युवा समूह निरन्तर लागिरहेको छ । चन्द्र यस समूहका संयोजक हुनुहुन्छ ।
विहान ५ बजे नै यो समूह भेला हुन्छ र नगर प्रहरी, नेपाल प्रहरीसँगै काठमाडौंको असन, ईन्द्रचोक लगायतका व्यस्त बजारमा राखिएका फुटपाथ पसल हटाउँदै जान्छन् ।
यो काममा उनी लगायत यो समूहले कम समस्या भोग्नुपरेको छैन । कतिपय ठाउँमा फुटपाथ व्यापारीहरु समूह नै बनाएर प्रतिकार नै गर्न आएको हो कि जस्तो भइकन उत्रिए । कतिले गरीवलाई खान देउ भन्दै भावुक बनाउन पनि खोजे ।
यस्तो अवस्थामा उनको एउटै मात्र प्रश्न थियो, ‘फुटपाथ वा बाटो भनेको बटुवाको लागि हो कि पसल थाप्नलाई ? सबै सबैले बाटोमा पसल थापेर बटुवालाई निकै समस्या भएको छ । यसको समाधान के त ?’
‘अहिले हामीले के गर्दैछौं ? त्यसले भविष्यमा के प्रतिफल देला ? अनि हामीले हाम्रा भावी सन्ततिलाई कस्तो समाज दिन लागेका छौं त ?’
व्यापार गर्नको लागि व्यवस्थित तरीकाले पसल कवल भाडामा लिएर कर तिरेर नै व्यापार व्यवसायमा लागे आफ्नो, टोल, समाज र राज्यको लागि समेत हितकारी हुने उनको सुझाव छ ।
यस्ता फुटपाथ पसलले यहाँका सम्पदाहरुमा समेत नकारात्मक असर परिरहेको चन्द्रको भनाई छ ।
‘यहाँका पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक, धार्मिक महत्वका मठ मन्दिर, पाटी, सत्तलको संरक्षण हामीले गर्ने कि नगर्ने ? यस्ता सम्पदाहरु पसल थाप्नको लागि हो ?’ उहाँले प्रश्न तेर्साउनुभयो ।
साँस्कृतिक परम्परासँग जोडिएका यस्ता मठमन्दिर वा सतलमा कतिपय पर्वहरुमा त्यहाँ पसल थापेका फुटपाथ व्यापारीले परम्पराको निरन्तरतामा अवरोध खडा गरेको तीतो अनुभव पनि यहाँ धेरै स्थानीयको रहेको छ ।
कतिपय स्थानीय व्यक्तिले पनि उनलाई फुटपाथ पसल नहटाउन दवाव दिन नखोजेको होइन । त्यसरी आउने व्यक्तिलाई उनले एउटै मात्र प्रश्न गरे, ‘अहिले हामीले के गर्दैछौं ? त्यसले भविष्यमा के प्रतिफल देला ? अनि हामीले हाम्रा भावी सन्ततिलाई कस्तो समाज दिन लागेका छौं त ?’
यस्तै अस्तव्यस्तताका कारणले नै स्थानीय वासिन्दाहरु पुरानो ठाउँबाट विस्थापित हुँदै गरेको यथार्थ बुझाउँदै सरसल्लाह गर्दै जाँदा अहिले फुटपाथ पसल नहटाउन भन्नेहरु नै उहाँसँगै फुटपाथ पसल हटाउ अभियानमा हिँड्न थालेको पनि छ ।
यहाँको पुरानो वस्तीलाई सुन्दर, व्यवस्थित र पुरानै मौलिक स्वरुपमा फर्काउने अभियानमा सबैलाई साथ दिन उहाँले आव्हान गर्नुभयो ।
फुटपाथ पसल हटाउ अभियानको आज २७ दिन पुरा भएको छ । अभियानको एक महिना पुरा हुन लाग्दा अभियानले सफलता पनि लिँदै गएको र यसको समीक्षा गर्ने बेला पनि भएको चन्द्रको भनाई छ ।
‘अभियानमा संलग्न साथीभाईहरु, स्थानीय क्लब, संघसंस्थासँग समीक्षात्मक छलफल गर्ने बेला पनि भएको छ,’ चन्द्रले थपे । ‘यो अभियान अझ व्यवस्थित र सशक्त ढङ्गबाट निरन्तर बढिरहनेछ ।’
Categorized in समाज