खोकना बचाउन एकजुट हुन अभियन्ताहरुको आव्हान
SamacharDesk – विकाश | २०७७ आषाढ २४, बुधबार

गत असार १५ र २० गते खोकनाको खुदोलमा रोपाईँ गर्ने क्रममा प्रहरीबाट भएको हस्तक्षेप र दमनको विरोधमा खोकनावासीले विरोध सभा गरेका छन् ।
फास्ट ट्र्याक लगायत विभिन्न योजनाको नाममा खोकनावासीलाई विस्थापित गर्न लागेको भन्दै खोकना बचाऔं अभियानमा जुटेका अभियन्ताहरुले मंगलबार खोकनास्थित ललितपुर महानगरपालिका २१ वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
खोकनावासीलाई परेको मर्कामा न्याय दिलाउन जनप्रतिनिधिबाट कुनै पहल नभएको भन्दै अभियन्ताहरुले दिनभर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
साँझमा सोही वडा कार्यालय परिसरमै विरोध सभा पनि आयोजना गरिएको थियो । सभालाई खोकनाका स्थानीय साथै विभिन्न अभियन्ताहरुले सम्वोधन गरेका थिए ।
सभामा नेपालभाषा साहित्यका लोककवि राजभाई जकःमिले कवितामार्फत स्वशासनको पक्षमा आवाज उठाए ।
अभियन्ता विद्या श्रेष्ठले पाँचवटा ठुलठुला परियोजना खोकनामा ल्याउँदा पनि खोकनावासीसँग कुनै सरसल्लाह नगरिनु र स्थानीयलाई जानकारीसम्म नदिनुबाटै राज्यको नियत गलत छ भनेर प्रमाणित भएको दावी गरे ।
नेपाः युथ अर्गनाइजेसनका अध्यक्ष साथै गुठी विधेयक विरुद्ध आन्दोलनको शुरुवात गरेको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संस्थापक संयोजक श्यामकृष्ण प्रजापतिले सबै एकजुट भएर खोकनाको साथै यहाँका ऐतिहासिक वस्ती, सम्पदाको संरक्षणमा अघि बढ्न आव्हान गरे ।
नेवाः आन्दोलनका अगुवा नेता डा. महेशमान श्रेष्ठले हालकै योजना अनुसार काठमाडौं–निजगढ फास्ट ट्र्याकको जिरो प्वाइन्ट खोकनाको खुदोलमै बनाइए यसले खोकनाको अस्तित्व नै मेटिने दावी गरे ।
स्थानीय अभियन्ता असोज महर्जनले अहिले विकासको खोल ओढाइएको विनासको परिणाम १० वर्षपछि देखिने र त्यो बेला नेपालको नक्साबाट खोकना हराइसक्ने भने ।
खोकना बचाऔं अभियानका अभियन्ता नेपाल डंगोलले यहाँ स्मार्ट सिटी, बाहिरी चक्रपथको नाममा ऐतिहासिक सम्पदा र वस्ती मास्न खोजिएको बताउँदै खोकनाको अस्तित्व बचाउन निरन्तर संघर्ष गरिरहने उद्घोष गरे ।
विकासको नाममा राज्यले खोकनाको अस्तित्व मेट्न लागेको भन्दै आन्दोलित भएका खोकनावासीले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।
यहि क्रममा गत असार १५ गते र २० गते काठमाडौं–निजगढ फास्ट ट्र्याकको जिरो प्वाइन्ट मानिएको खुदोल क्षेत्रमा किसानहरुले रोपाईँ गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गर्नुका साथै दर्जन सेलभन्दा बढि अश्रुग्याँस समेत प्रहार गरेका थिए ।
Categorized in समाज