arin enterprises

आज श्रावण संक्रान्ति, लुतो फालिँदै

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १, बिहिबार

आज साउन १ गते अर्थात् श्रावण संक्रान्ति । विशेष गरी किसानहरु लुतो फाल्दै श्रावण संक्रान्ति मनाईँदैछ ।

असार महिनाको रोपाईँ सकिने र लुतो लाग्ला भन्ने डरले आजको शरीरको सरसफाई गरी किसानहरुले लुतो फाल्ने गर्दछन् ।

कागती, अम्बा, नासपाती, अनार, आदि फलफूलहरु चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो जस्ता रोगबाट बच्न सकिने मान्यता समाजमा रहेको छ ।

आजको दिनबाट ज्योतिषी पञ्चाङ्ग अनुसार सूर्य दक्षिणायनमा पर्दछ । यसको अर्थ सूर्य दक्षिणमा सर्दै जान्छ । 

आजबाट दिन प्रतिदिन रातको समय बढ्दै र दिन घट्दै जान्छ ।

आजको दिन सूर्य कर्कट राशीमा पर्ने भएकोले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

श्रावण महिनामा वर्षा ऋतु लागेसँगै पानी पर्ने भएकाले वातावरण हरियाली हुन्छ । यस्तो हुँदा यो महिनाभर महिलाहरुले श्रृङ्गार गर्दा पनि हरियो वस्त्र, गहना, आदि लगाउने गर्दछन् । 

ललितपुर जिल्ला ज्योतिष परिषद्का उपाध्यक्ष सुभद्रिका राजोपाध्याय भने श्रावणमा हरियो रंग नजुर्ने बताउनुहुन्छ ।

ज्योतिषशास्त्रमा कर्कटको रंग सेतो वा कहिलेकाहीँ पहेँलो हुने र कर्कटको लागि हरियो रंग अकारक मानिने पनि भन्नुभयो ।

यीनै कारणले श्रावण महिनामा हरियो रंग प्रयोग गर्ने सल्लाह ज्योतिषशास्त्रले नदिने राजोपाध्याय बताउनुहुन्छ । 

श्रावण महिनाको सोमबार भक्तजनहरुको शिवालयहरुमा भीड नै लाग्ने गर्दछ । 

श्रावण महिनाको हरेक सोमबार महादेवको पूजा आराधना गर्ने गरेमा पुण्य फल प्राप्त हुने र राम्रो वर पाइने जनविश्वास छ ।

Categorized in संस्कृति