२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४२
SamacharDesk – विकाश | २०७७ श्रावण ७, बुधबार

आज एकैपल्ट दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दुई जनाको मृत्यु पुष्टि गरेको हो ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुषको गत श्रावण ६ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
खोकी, उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत श्रावण २ गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
भेन्टिलेटरमा राखेर सघन उपचारको क्रममा हिजो उनको मृत्यु भएको थियो ।
कोरोना संक्रमण जाँचका लागि नमूना संकलन गरी परिक्षण गरिएकोमा रिपोर्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले बताए ।
त्यसैगरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित चिनियाँ नागरिकको आज मृत्यु भएको छ ।
पोखरामा कार्यरत ४९ वर्षीया चिनीयाँ महिलाको स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पताल भर्ना भएकी थिइन् ।
स्वास्थ्य समस्या जटिल हुँदै गएपछि साउन २ गते हेलिकोप्टरबाट उनलाई काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा नमूना परिक्षण गरिँदा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
उपचारको क्रममा आज उनको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
Categorized in समाज