विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ९, शुक्रबार

काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।
करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।
उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालको ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
‘विष्णुमति वारी पुष्पलालको सालिक सहितको पार्क निर्माण भयो, पारीपट्टी शोभागवतीमा गंगालालको सालिकसहितको पार्क छ,’ नेपालले भन्नुभयो, ‘नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरुका सालिक वरीपरी देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप काठमाडौँ महानगरपालिका अघि बढेको स्मरण गराउनुभयो ।
प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौदर्यीकरण गरेर अघि बढ्ने बताउनुभयो । वडावडामा भएका यस्ता कार्यमा काठमाडौँ महानगरपालिकाको निरन्तर सहयोग र सहकार्य रहने पनि उहाँले प्रष्ट पार्नुभयो ।
‘अहिले वडा–१८ मा पार्क निर्माण भएको छ । पार्क निर्माणको काम यतिमा मात्रै समित रहन्न । वडा–१७ सम्म यही पार्कलाई जोडेर निर्माण गर्ने तयारी सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौँ ।’
सातौँ नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौदर्यीकरण गरेर हरियाली प्रवद्र्धन गरी पार्क निर्माण गर्न एकमुष्ठ बजेट विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद वसन्त मानन्धर, वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।
२०५१ साल अघिसम्म सुकुम्वासी बस्ती रहेको सो स्थानमा सुरुमा वृक्षारोपण गरिएको थियो ।
वडाध्यक्ष महर्जनका अनुसार २०६५ सालमा त्यहाँ पुष्पलालको शालिक निर्माण गरिएको थियो । अहिले मायादेवी र सिद्धार्थ गौतमको समेत मुर्ति स्थापना गरेर विष्णुमतिको समेत सौदर्यीकरण गरिएको छ ।
Categorized in स्थानीय