व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ९, शुक्रबार

विगतमा सयौँ रोपनी सार्वजनिक जग्गा व्यक्तिले मिचेर लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो ।
पुष्पलाल पार्क उद्घाटन समारोहलाई सम्वोधन गर्दै कामपा प्रमुख शाक्यले सार्वजनिक जग्गा फिर्ता लिने क्रममै धेरै वडाध्यक्षहरुले कतै अख्तियारमा त कतै अदालतमा मुद्दा खेपिरहेको बताउनु भयो ।
‘हामी व्यक्तिलाई दुःख दिदैनौँ । तर, कसैलाई राज्यको सम्पत्ति लुटेर खाना दिदैनौँ,’ शाक्यले भन्नुभयो । जहाँ सार्वजनिक जग्गा छ त्यहाँ हरियाली प्रवद्र्धन गर्ने योजनाका साथ महानगरपालिका अघि बढिरहेको छ ।
हरियाली प्रवद्र्धनसँगसँगै सम्पदा पुर्ननिर्माणको कामलाई कामपाले प्राथमिकता दिएको शाक्यको भनाई थियो ।
कतिपय अवस्थामा व्यवसायिक अभियन्ता भनाउँदकै कारण सम्पदा निर्माण–पुर्ननिर्माणमा समस्या आउने गरेको गुनासो शाक्यले गर्नुभयो ।
उहाँले कम्प्लेक्स, रानीपोखरी, टुँडिखेललगायतका सन्दर्भमा पनि केहीले भ्रम पैदा गर्ने काम गरेको र आफूलाई वद्नाम गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
‘पूर्वमन्त्री भिमसेनदास प्रधानले आफू मन्त्री हुँदा सिन्को पनि भाँञ्चुु भएन । उहाँले नै केही युवालाई अघि सारेर अभियान चलाउनुभयो,’ मेयर शाक्यले भन्नुभयो । ‘आफु नेतृत्वबाट हट्ने वित्तिकै मिशन चलाएर अरुलाई बद्नाम गर्न खोज्नु उचित होइन ।’
आफूले गरेका कामको स्वेतपत्र जारी गर्न तयार रहेको चुनौति समेत दिनुभयो दिनुभयो ।
मेयर शाक्यले दरबार हाइस्कुल चार तलाको निर्माण भएको नदेख्नेहरुले अन्य ठाउँमा सम्पदा मिचियो भन्दै कराउने कुरा सान्दर्भिक नभएको बताउनुभयो । सम्पदा बचाउने नाममा व्यवसायिक नबन्न पनि शाक्यले सुझाव दिनुभयो ।
Categorized in स्थानीय