arin enterprises

नागपञ्चमीमा आज घरघरमा नाग पूजा गरीयो

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १०, शनिबार

आज श्रावण शुक्ल पञ्चमी, नेपालका साथै भारतमा समेत आज घरघरमा नाग पूजा गरी नागपपञ्चमी मनाइएको छ ।

आजको दिन सबैले आफ्नो घरको मूल ढोकामा नागको फोटो टाँसेर त्यसमा गोबर, दुबो, तोरी, दुध र पैसा आदि राखी पूजा गर्ने गर्छन् ।

यसको साथै उपत्यकामा पानीका श्रोतहरु जस्तै इनार, पोखरी, दह आदि जस्ता स्थानहरुमा पनि नागको विशेष पूजा गर्ने गरिन्छ । 

काठमाण्डौँ र भक्तपुरको नागपोखरी तथा ललितपुरको नागदहमा आजको दिन विशेष मेला नै लाग्ने गर्दछ । 

पानीको श्रोतलाई सफा बनाइराख्न र वर्षभरी पानीको दुःख हुन नदिन योगदान दिने भनेर पानीका श्रोतहरुमा नागको पूजा गर्ने गरिन्छ । 

यसको साथै जेष्ठ पूर्णिमाको दिनमा निस्केका नागहरु यो समयमा सक्रिय हुने र नागहरुबाट कुनै प्रकारको दुःख नहोस् भनेर पूज्ने गरेको पनि मान्यता रहेको छ ।

यसरी पूजा गरिँदा वर्षभरी नागहरुले घर तथा परिवारका सदस्यहरुलाई अनावश्यक दुःख नदिने मान्यता समाजमा रहेको छ ।

 

नागपञ्चमीसँग जोडिएको किम्वदन्ति

नागपञ्चमीको शुरुवात कसरी कसरी भयो भन्ने प्रश्नमा यसको सम्वन्ध पंच पाण्डवका अर्जुनका नाती परिक्षित राजासँग जोडिन गएको देखिन्छ ।

अर्जुनका नाति परिक्षित राजा रहेका बेला तक्षक नागले डसेकाले उनको मृत्यु भयो ।

त्यसपछि उनका छोरा, जनमेजयले आफ्नो पिताको वधको प्रतिशोध लिन नाग सत्र आयोजना गरी प्रत्येक नागको वलि चढाएका थिए ।

त्यस समयमा जनमेजयले नागराज तक्षकको पनि वध गर्न लाग्दा ऋषि अस्तिकले उनलाई रोके । 

यो श्रावण शुक्ल पञ्चमी अर्थात आजकै दिन थियो । 

सोही समयबाट आजको दिनलाई नाग पञ्चमीका दिनमा नागको पूजा गर्दै मनाउन थालिएको किम्वदन्ति समाजमा प्रचलित छ ।

Categorized in संस्कृति