काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १४, बुधबार

काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ ।
विगतमा नेपाल ट्रस्टले कन्सेप्ट डेभलपर्स प्रा.लि.सँग गरेको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएको थिाये भने कामठाडौं महानगरपालिकाले १० वर्षका लागि लिज÷भाडा सम्झौता गर्ने अन्तिम तयारी गरेको थियो ।
यसैबीच कन्सेप्ट डेपलभपर्सका सुनिलभक्त श्रेष्ठ आफ्नै कम्पनीको सम्झौताले निरन्तरता पाउनुपर्ने माग गर्दै गत असार २२ गते सर्वोच्चमा रिट दायर गरेपछि काठमाडौं महानगरपालिकासँगको सम्झौता प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।
सो रिटमा न्यायधीश अनिल कुमार सिन्हा र पूर्व महान्यायधिवक्ता समेत रहनु भएका न्यायाधीश हरि फुयाँलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै अब भने महानगरपालिकालाई सम्झौता प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
काठमाडौँ महानगरपालिकाका तर्फबाट कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, अधिवक्ता टिकाराम भट्टराई, र काठमाडौँ महानगरपालिकाका कानुन महाशाखा प्रमुख बसन्त आचार्यले बहस गरेका थिए ।
यो फैसलासँगै अब छिट्टै छुट्टाछुट्टै घर भाडामा लिएर विभिन्न ११ ठाउँबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजाको एकै छानामुनीबाट सेवा दिने छ ।
छुट्टाछुट्टै घर भाडामा लिई विभिन्न ११ ठाउँबाट सेवा प्रवाह गर्दा काठमाडौँ महानगरपालिका र स्थानीय जनताका लागि ढिलो, खर्चिलो, झन्झटिलो र असुविधानजक बन्दै आएकोमा अब एकै छानामुनीबाट सेवा प्रवाह गर्न सकिने कामपाले जनाएको छ ।
सबैतिरको भाडा जोड्दा अहिले पनि २८ लाख बढी खर्च भैरहेको कामपाले जानकारी गराएको छ ।
२०५० साल असार ३ गते तत्कालिन राजदरबारका तर्फबाट राजकीय सम्पति कोष विभागका तत्कालिन सह–सचिव शंकरराज विष्ट र काठमाडौँ महानगरपालिका वडा–७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गामा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।
सुवासराज काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रा.लि.मा हस्तान्तरण भएपछि पुनः २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम सो करारनामामा उल्लेखित जग्गा र त्यहाँ निर्माण भएको भवनको स्वामित्व नेपाल ट्रष्टमा हस्तान्तरण भएको हुँदा २०५० साल असार २ को करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो ।
Categorized in स्थानीय