काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १४, बुधबार

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार गरेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो ।
महानगरपालिका क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ ।
काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मनाइने चाडपर्व, संस्कार, संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जनाएको छ ।
स्थानीय सरकार गठन भइसकेपछि राज्यको नीति अनुरुप नै स्थानीय विषयको पाठ्यक्रम स्थानीय सरकारबाटै निर्माण गरी लागू गर्न लागिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
‘पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भन्नुभयो, ‘महानगरपालिकाले नेपालभाषाबाट तयार गरेको पाठ्यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित गर्ने चरणमा छ, पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।’
बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने र कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको बज्राचार्यले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।
पाठ्यक्रम समितिका अर्का सदस्य वरुणप्रसाद वैद्यले नेपालभाषामा तयार गरिएको पाठ्यक्रमको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताउनुभयो
यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषा भन्दा पनि काठमाडौंको परिचयमा केन्द्रित रहेको बताउनुभयो । पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकता अनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सकिने श्रेष्ठको भनाई हो ।
स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको चर्चित सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताउनुभयो । नोवेल एकेडमीका को–अर्डिनेटर शोभाकर भण्डारीले विद्यालयमा अहिले पनि काठमाडौंको जात्रा, पर्वहरू बारे पढाइ नै रहेको बताउनुभयो ।
Categorized in स्थानीय