कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १५, बिहिबार

कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ ।
यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ ।
यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत कीर्तिपुर नगरपालिकाले आज साउन १५ गते कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ मा पर्ने फय्खा नगरको बाटोको दायाँबायाँ वृक्षारोपण गरी नगरलाई खाद्य सडक बनाउने कामको शुरुवात गरेको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टिमुरको बोट रोपी खाद्य सडक निर्माणको शुभारम्भ गर्नुभएको थियो ।
नगर उप–प्रमुख सरस्वती खड्का, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, ९ का अध्यक्ष गंगाराम महर्जन, १० का अध्यक्ष अमन महर्जन लगायत वडा सदस्यहरू र स्थानीयबासीहरूले समेत वृक्षारोपण गरेका थिए ।
सो अवसरमा तेजपात र टिमुरका करीव १५० वटा विरुवा सो स्थानमा रोपेको थियो । विरुवाहरू राष्ट्रिय वनस्पति उद्यान गोदावरीले उपलब्ध गराएको हो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिका उप–प्रमुख खड्काले नगरपालिकाले नयाँ सोचका साथ कार्यान्वयन गरेको खाद्य सडकको महत्वको बारेमा प्रकाश पार्नुहुँदै उपस्थित सबैलाई धन्यवाद् दिनुभएको थियो ।
राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका कार्यालय प्रमुख दिपक लामिछानेले नगरलाई खाद्य सडक बनाउने नयाँ सोच ल्याएकोमा कीर्तिपुर नगरपालिकालाई धन्यवाद् दिनुभयो ।
Categorized in स्थानीय