arin enterprises

नेवार समुदाय गुंपुन्हि मनाउँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १९, सोमबार

तागाधारीहरु आज जनै पुर्णिमा मनाउँदै गर्दा नेवार समुदाय भने आजको दिनलाई गुंपुन्हिको रुपमा मनाइरहेका छन् ।

विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय गुंपुन्हि मनाउने गर्दछन् ।

नेपाल सम्वत अनुसार यो पर्व गुंला महिनामा पर्छ र नेपालभाषामा पुन्हि भन्नाले पुर्णिमा हो । गुंला महिनामा पर्ने पुर्णिमा भएकोले यसलाई गुंपुन्हि भनिएको भन्ने कथन छ ।

साथै आज क्वाति खाने दिन भएकोले क्वाति पुन्हि पनि भनिन्छ ।

क्वाः अर्थात तातो र ति भनेको झोल । ९ थरी गेडागुडी राखेर पकाइएको तात्तातो झोल खाने भएकोले यसलाई क्वाति भनिएको पाइन्छ ।

गेडो मुंगी, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमि, बोडी र बकुल्ला राखेर क्वाति पकाएर खाइन्छ । 

यसरी ९ थरीको गेडागुडीको मिश्रण क्वातिमा प्रोटिनको साथमा कार्बोहाइड्रेड, आइरन, क्याल्सियम खालका पौष्टिक तत्त्व भरपूर मात्रामा पाइने हुँदा यसले मान्छेको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । 

साथै वर्षातको मौसममा हुन सक्ने रोग, महामारीबाट बच्न समेत यसले मद्दत गर्ने विज्ञहरुले बताएका छन् ।

अहिले आएर उल्लिखित ९ गेडागुडीको साथमा पिठोको रोटी, ममः आदि समेत राखेर ‘ग्वार्चा’ जस्तै बनाउने पनि गरिएको छ ।

आजको दिनमा काठमाडौंका हरेक बहालमा दीपङ्कर बुद्धको मूर्तिको साथै विभिन्न बौद्ध सामग्री प्रदर्शन गर्ने परम्परा पनि रहेको छ । 

यो दिनमा ९ थरी गेडागुडीको रस क्वाति खाएर ९ जोर लुगा फेर्दै ९ पटक ९ वटा बहालमा घुम्न जानुपर्ने कथन पनि पाइन्छ ।

नेपालभाषामा ९ लाई गु भनिन्छ । ९ अङ्कसँग सम्बन्धित भएकोले यसलाई गुंपुन्हि भनिएको पनि कथन छ ।

आजै खेतमा भ्यागुतोलाई भात ख्वाउने चलन पनि नेवार समाजमा रहेको छ । खेतमा किटपतङ आदिबाट बालीको रक्षा गर्ने भनेर खेतमा भ्यागुतोको लागि भात राखिदिने गरिन्छ । 

बोडीको पात अथवा भटमासको पातमा भातसँगै क्वाति, बोडी, नासपाति, मूला, काँक्रो, विमिरो, मासुको साथमा टीका, अक्षता, फूलसमेत राखेर खेतमा राख्न लगिन्छ।

आजको दिन नेवार समाजका सनातन धर्मावलम्बीहरु पनि आफ्ना गुरु पुरोहितको हातमा रक्षा बाँध्ने गर्दछन् ।

सनातनी नेवारहरु आफ्नो गुरु पुरोहितको हातबाट गुंपुचः बाँध्ने गर्दछन् ।

सनातनी नेवारहरुको गुरु पुरोहित देव ब्राम्हण राजोपाध्यायले कपडाको टुक्रामा विभिन्न सामग्रीहरु राखी बेसारले पहेंलो रंगिएको धागोले बाँधेको गुंपुचः आफ्ना जजमानको नाडीमा बाँधिदिने गर्दछन् ।

Categorized in संस्कृति