पालोवालाले पालो लिनै छोडे कृष्ण जात्राको
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २०, मंगलबार

भाद्र कृष्ण प्रतिपदा अर्थात काठमाडौंका नेवार समुदायको लागि सापारु अथवा सायाः । गैर नेवारले यस पर्वलाई गाईजात्रा भनेर त चिन्ने गर्छन् ।
गाईजात्रा वा सायाः विशेष गरेर दिवंगत अथवा मृतात्माको सद्गतिको कामनासहित गर्ने गरिन्छ । काठमाडौं उपत्यका लगायत नेवार समुदायको बसोबास रहेको स्थानमा सापारु मनाइन्छ ।
परिवारमा दिवंगत भएकाको सद्गतिको कामना, सबैको उद्देश्य एउटै रहेपनि स्थान विशेष अनुसार सायाः मनाउने तरीका वा विधिमा भने विविधता रहेको पाइन्छ ।
भक्तपुरमा ताहामचा, घिन्ताङकिसि आदि लगायतका साँस्कृतिक गतिविधिले सायाःको रौनक थपेको हुन्छ । त्यसैगरी काठमाडौंमा पनि बालबालिकालाई जामा लगाइ गाई बनाएर नगर परिक्रमा गराउने गरिन्छ ।
पाटनको सायाःको विशेषता पनि छुट्टै नै रहेको छ । यहाँ सायाःको अवसरमा कृष्णको साथमा रूक्मिनी, सत्यभामा र उद्धवको जात्रा निकालिने गरिन्छ ।
कृष्ण जात्राको संक्षिप्त परीचय
मान्छेलाई नै श्रृङ्गार पटार गरी कृष्ण, रुक्मिनी, सत्यभामा र उद्धवको रुप दिएर पाटनमा नगर परिक्रमा गराइन्छ । सायाःको नगर परिक्रमा कृष्ण गुठीले आयोजना गर्ने गर्दछ ।
यसरी अप्सरागण सहित निकालिने कृ्ष्णका जात्रा नै पाटनको सायाःको आकर्षण हो ।
सायाःको नगरपरिक्रमा संचालन गरिँदा पालोवाला अनुसार कृष्ण बन्नेको टुङ्गो लाग्छ ।
एक वर्ष भित्र देहान्त भएकामध्ये कुनै एक परिवारले सायाः चलाउने पालो पाउँछ । त्यहि परिवारको पुरोहित परिवारबाट व्रतवन्ध सम्पन्न भइसकेको व्यक्ति कृष्ण बन्ने गर्दछ । रूक्मिनी, सत्यभामा र उद्धव भने पालोवालाको इच्छा अनुसार चयन गरिन्छ ।
कतिले उद्धवलाई वलभद्र पनि भन्छन् । तर कृष्णकै दाजु वलरामको अर्को नाम वलभद्र भएको पाटन कुम्भेश्वरका सहायक पूजारी शिवश्याम शर्माको भनाई रहेको छ ।
‘वलभद्र त कृष्णका दाजु हुन् । बरू उद्धव चाहि कृष्णको परम भक्त हो’ शर्माले थपे ‘दाजुले भाइलाई किन अभिनन्दन गरी नगरपरिक्रमा गर्ला र ?’
योसँगै गाई तथा बाच्छीहरू पनि कृष्ण मन्दिर अगाडि ल्याउने गरीन्छ ।
यस किसिमको कृष्णको जात्रा यो वर्ष भने स्थगित भएको छ । कृष्ण गुठीले यस वर्ष कोभिड–१९ महामारीका कारण नगर परिक्रमा स्थगित गरेको छ ।
जात्रा स्थगित भएपनि आजा सायाःको दिन कृष्ण मन्दिरमा एक घरबाट एक व्यक्तिलाई मात्र प्रवेश गराइने कृष्ण मन्दिरका पूजारी महेशधर राजोपाध्यायले बताए ।
नगरपरिक्रमा नगरिए पनि कृष्ण मन्दिरमा पूजा गराए मृतात्माले चीर शान्ति पाउने जनविश्वास छ ।
पालोवालाले पालो लिनै छोडे
यदि पालो परेको परिवारले जात्रा संचालन नगर्ने भए अथवा पालो नचलाउने भए त्यो पालो स्वतः कृष्ण मन्दिरमा जान्छ र कृष्ण मन्दिर पूजारी परिवारबाटै कृष्ण बन्ने गरिन्छ ।
रूक्मिनी, सत्यभामा र उद्धव भने कृष्ण गुठीबाट जात्रा पूर्व नाम दिएकामध्येबाट छानिन्छ ।
केही वर्ष यताबाट यो जात्राको पालो कृष्ण मन्दिरबाटै चलाईँदै आएको छ । यसो भन्नुको अर्थ केही वर्ष यताबाट पालोवालाले पालो चलाएका छैनन् ।
करीब ७ वर्षदेखि कसैले पालो नलिएकोले कृष्ण मन्दिरबाटै पालो चलाईँदै आएको छ ।
कृष्ण मन्दिरका पूजारी प्रतापधर शर्मा आकासिएको बजार भाउका कारण पालोवाला पछि हटेको विचार राख्नुहुन्छ ।
शर्माको यस विचारमा कृष्ण गुठीका अध्यक्ष कालिराज जोशी पनि समर्थन जनाउनुहुन्छ ।
‘गतवर्ष गाईजात्रा चलाउँदा छाता बोक्ने, आदिलाई ज्याला, पूजा, भोजभतेर आदि गरेर करिब ९६ हजार रूपैयाँ खर्च भएको थियो’ अध्यक्ष जोशीले जानकारी दिए ।
कृष्ण मन्दिरको जग्गा आदिबाट आएका बालीबाट खडा गरिएको कोषबाट यो रकम खर्च भइरहेको पनि जोशीले बताए ।
पालोवालाले यो जात्रा चलाए अझ बढी खर्च हुने उहाँको भनाई छ । यही कारणले पालोवालाले पालो छोड्ने गरेको र कृष्ण मन्दिरबाटै चलाउनु परिरहेको उनले बताए ।
Categorized in संस्कृति