नाकामा कडाई गर्न उपत्यकाका मेयरहरुको संघीय सरकारसमक्ष माग
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २६, सोमबार

उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न फेरी पनि माग गरेको छ ।
रक्षा मन्त्रालयमै गई फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पछिल्लो समय उपत्यकाका संक्रमण बढ्दै गएको अवस्थामा बेलैमा आवश्यक कदच चाल्न आग्रह गरे ।
‘घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’
छलफलका क्रममा तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी एकीकृत क्वारेन्टीन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिनुभयो ।
साथमा सरकारको विरोध र समर्थनमा ¥्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि सुझाव दिएको शाक्यले बताउनुभयो ।
मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समूदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्युनिकरण गर्न मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिनुभयो ।
अहिले सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।
‘उपत्यकामा संक्रमणको जोखिम युक्त स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साईकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौँ,’ मध्यपुर थिमि नगर प्रमुख श्रेष्ठले भन्नुभयो । ‘तरकारी व्यापारलाई साँझ–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएका छौँ ।’
आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ मलहरुमा संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गराउन र नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ ।
फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ ।
Categorized in स्थानीय