arin enterprises

‘सरकारको समर्थन वा विरोधमा र्‍याली निषेध गरौँ’

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २६, सोमबार

उपत्यका नगरपालिका फोरमले उपत्यकाभित्र भन्दा उपत्यका आउनेहरुलाई प्रस्थान विन्दुमै कडाई गर्न सरकारसँग माग गरेको छ  । 

आज राजधानीमा बसेको नगरपालिका फोरमको बैठकले प्रस्थान विन्दुदेखि नै कडाई गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत बन्द गराउनुपर्ने माग गरेको हो ।

बैठकले उपत्यकामा समूदाय स्तरमा कोभिड—१९ को संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि बैठकले अनुरोध गरेको छ । 

मास्क नलगाई आवत जावत गर्ने र मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाही गर्न पनि फोरमले माग गरेको छ । 

सार्वजनिक यातायात सञ्चालन भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्न पनि संघीय सरकारसँग फोरमले माग गरेको छ ।

उपत्यकामा स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गर्ने, सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद हाललाई २०७७ साल आश्विन मसान्तसम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने जस्ता निर्णय पनि गरेको छ ।  

बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकावासी लकडाउनको पूर्ण पालना गरेर बस्ने र अहिले केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्ता भएको बताउनुभयो । 

उहाँले सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाई छ । 

फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले उपत्यका प्रवेशमा कडाई गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।

बैठकमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र सीसीएमसीका पदाधिकारीहरुलाई पनि बोलाइएको थियो । 

फोरमको बैठकमा सहभागी प्रधानमन्त्री कार्यालय एवं (सीसीएमसी) का सचिव महेन्द्र प्रसाद गुरागाईले पनि फोरमका माग सकारात्मक रहेको भन्दै सीसीएमसी बैठकमा गम्भीरताका साथ उठेको बताउनुभयो । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले संक्रमण फैलिनुमा सबै पक्षको कमजोरी रहेको स्वीकार्दै मास्क, सामाजिक दुरी, स्यानिटाइजर लगायतका सावधानी अपनाए संक्रमण नियन्त्रणमा धेरै टेवा पुग्नेमा जोड दिनुभयो ।

Categorized in स्थानीय