जनजाति दिवसमा खोकनामा साँस्कृतिक संघर्ष
SamacharDesk – मीरा महर्जन | २०७७ श्रावण २६, सोमबार

यस वर्षको अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा खोकनामा साँस्कृतिक संघर्ष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा लाखे नाच, धिमेय्, भुस्याःको तालसँगै विभिन्न गीतसंगीतहरुको माध्यमबाट स्थानीय युवाहरुले खोकनामाथि दमन र अत्याचार भएको संकेत प्रस्तुत गर्दै विरोधको आवाज उठाएका थिए ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमको उद्घाटन देय् थकाली आजुबाट पानसमा दिप प्रज्वलन गरी गरिएको थियो ।
कार्यक्रममा जनसरोकार समितिका कृष्णभक्त डंगोलले फास्टट्र्याक लगायतका योजनाहरु लादेर सरकारले खोकनाकै अस्तित्व मेट्न लागेको भने ।
खोकनाको विषयमा सर्वोच्च अदालतमा जानु अघि स्थानीयले मुद्दा जित्नेमा शंका रहेको सम्झिँदै अभिवक्ता शंकर लिम्बुले मुसुक्क हाँस्दै भन्नुभयो, ‘यो मुद्दा हामी जितेर देखाउँछौं ।’
आदिवासी जनजाति वकिलहरुको समूह लाहुर्निपका शंकर लिम्बुले नेपाली सेनामाथि प्रश्न तेर्साए, ‘नेपाली सेनाको काम के हो ? तपाईँहरु बन्दुक बोकेर देशको सीमा रक्षा गर्न जाने हो कि खोकनावासीसँग लड्ने हो ?’
आइएलओका क्रिश्चियन म्यानरले यहाँको मूर्त अमूर्त साँस्कृतिक सम्पदाकै कारण खोकना विश्व सम्पदामा परेको भन्दै यहाँको सम्पदाको रक्षार्थ आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केही दिन अघिमात्रै काठमाडौं–निजगढ फास्टट्र्याकको जिरो प्वाइन्ट मानिएको खोकनाको खुदोल क्षेत्रको अवलोकन गर्नुभएका हावर्डले कृषि योग्य जमिनमा कृषकलाई कृषि गर्नबाट रोक्ने सरकार जनताको हो कि होइन भनेर सरकारलाई नै प्रश्न राखे ।
जनसरोकार समन्वय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले सबैलाई विद्यालयमा पढेको कथालाई सम्झेर त्यसबाट पाठ सिकेर एकजुट हुन आव्हान गरे ।
‘एउटा लठ्ठि सजिलै भाँच्न सकिएला, कैयन लठ्ठिको मुठ्ठा भाँच्न सकिन्न,’ प्रजापतिले भने । ‘हामी पनि एकजुट भयौं भने हामीलाई तोड्न सकिन्न । हामी एकजुट होऔं ।
सरकारले खोकनामा विकासको नाम दिएर विभिन्न योजनाहरु ल्याई खोकनाको अस्तित्व नै मेट्न खोजेको भन्दै खोकनावासीहरुले निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।
फोटो – विनोद ताम्राकार
Categorized in समाज