कामपाबाट अनुदानप्राप्त पीसीआरले परीक्षण थाल्दै प्रसूतिगृह
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २७, मंगलबार

परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । आज अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको उद्घाटन गरिएको छ ।
अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
सो अवसरमा मन्त्री ढकालले उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कामपा प्रमुख शाक्यले महानगरपालिकासँग स्वास्थ्यका क्षेत्रमा प्रयाप्त पूर्वाधार र जनशक्ति नभएकाले पूर्वाधारसहितका अस्पताललाई कोभिड–१९ को परिक्षणका लागि अत्यावश्यक सामग्री सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको सहकार्यमा बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा सुरु गरिसकेको गरेको जानकारी पनि दिनुभयो ।
‘महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता गरिसकेको छ भने कान्तिवाल अस्पतालसँग पनि सम्झौता गरेका छौँ ।’ आगामी दिनमा थप समन्वय गरेर स्वास्थ्य क्षेत्रमा हातेमालो गर्दै अघि बढ्न चाहेको शाक्यले बताउनुभयो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली उपनिर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर ल्याबको उद्घाटन गरेको भन्दै अब छिट्टै सेवा सुरु गर्ने जानकारी दिनुभयो ।
‘अब ल्याबको उद्घाटन भयो । अब यसको प्रक्रिया पूरा गरेर एक हप्ता भित्रैबाट सेवा सुरु गर्ने तयारी थालेका छौँ,’ अधिकारीले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेर निकै ठूलो गुण लगाएको छ । हामी यसको उचित सदुयोग गर्दै सेवा प्रदान गर्नेछौँ ।’
सुत्केरी महिला, बच्चा र पाठेघरलगायतको अप्रेसनका लागि अस्पताल आउने सेवाग्राहीलाई प्राथमिकतामा राखी अरुलाई पनि सेवा दिने उपनिर्देशक अधिकारले बताउनुभयो ।
उहाँले ल्याबको क्षमता हेरेर दैनिक करीब २० बाट सुरु गरी २ सयसम्मको पीसीआर परिक्षण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले प्रसुतीलाई पीसीआर मेसिन एक थानसहित, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरेको थियो ।
Categorized in समाज