arin enterprises

कृष्ण जन्माष्टमीको मेला खोज्दै कृष्ण मन्दिर

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २७, मंगलबार

आज श्री कृष्ण जन्माष्टमी । विगतका वर्षहरुमा आजको दिन मंगलबजारको रौनक नै बेग्लै हुन्थ्यो ।  कृष्ण जन्माष्टमीको अवसरमा पाटन दरवार स्क्वाएरस्थित कृष्ण मन्दिरमा ठुलै मेला नै लाग्ने गर्दथ्यो । 

नेपालका विभिन्न स्थानको साथै भारतबाट समेत भक्तजनहरु कृष्णको दर्शन र पूजा अर्चना गर्न पाटन मंगलबजारको कृष्ण मन्दिर पुग्ने गर्दथे । व्रत बसेर रातमा भजन किर्तन गर्दै जाग्राम बस्नेको घुइँचो नै लाग्ने गर्दथ्यो ।

तर आज त्यस्तो हुन सकेन । कारण त्यहि, सारा विश्वलाई आक्रान्त पारेको कोरोना भाईरस महामारी । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज सर्वसाधारणका लागि कृष्ण मन्दिर बन्द रह्यो ।

बाहिरैबाट दर्शन गर्न आउने केही संख्यामा रहेपनि विगतका वर्षहरुमा जस्तो यहाँ मेला भने हुन सकेन ।

कृष्ण मन्दिरका पूजारी महेशधर राजोपाध्याय नित्य पूजाका लागि विहान ४ बजेतिर नै मन्दिरमा पुगिसकेका थिए ।

नित्यपूजा पछि पूजारीलाई मंगल टोल सुधार संघको तर्फबाट फेस सिल्ड, मास्क, पन्जा, सेनिटाइजर प्रदान गरी पूजा गर्न आएकालाई तल नै पूजा गर्न दिइ फर्काइएको थियो ।

भीड हुन नदिन प्रहरी र टोलका स्वयम्सेवकहरु सक्रिय भएका थिए ।

पूजा लिने काम पनि दिउँसो १२ बजेसम्म मात्र गरिएको थियो । त्यसपछि भने मंगलबजार क्षेत्र प्रवेश गर्न नै रोक लगाएको थियो । डोरी बाँधेर भक्तजन एवम् बटुवालाई समेत मंगलबजार क्षेत्र प्रवेशमा रोक लगाइएको थियो ।

भीड हुने सम्भावनालाई ध्यानमा राखेर मंगलबजार प्रवेशमा निकै कडाई गरिएको थियो । यहाँसम्म कि पूजारी महेशधरका परिवार १२ बजेपछि मंगलबजार पुग्दा पुजारीको परिवारलाईसम्म पनि प्रवेश गर्न दिइएन ।

‘बेलुकी आरती र पूजाका लागि चाहिने केही सामानहरु लिएर साँझ ६ बजे मंगलबजार पुगेको थिएँ । स्वयम्सेवकले जानै दिएनन्,’ पूजारी महेशधरकी श्रीमति रत्ना राजोपाध्यायले भनिन् । ‘पछि बल्ल जान दिए र सामान दिएर आएँ । अहिलेको संक्रमणको जोखिमको अवस्थामा यसो गरिनु ठिक पनि हो ।’

यो दिनमा राष्ट्राध्यक्ष सवारी भई श्री कृष्ण भगवानको दर्शन गर्ने र पूजारीको हातबाट प्रसाद ग्रहण गर्ने चलन पनि रहि आएको छ । देशमा राजतन्त्र रहेको अवस्थामा राजा र गणतन्त्र स्थापना पछि राष्ट्रपतिको सवारी हुने गर्दथ्यो । तर यस वर्षमा यो परम्परा पनि तोडिएको छ ।

आज मध्यरात १२ बजे कृष्ण जन्मेको संकेत स्वरुप आरती गर्ने चलन पनि छ । आरतीको समयमा कृष्ण मन्दिरको दिव्य घण्ट, शंख, हारमोनियम, तबला, झ्याली, आदि बजाई द्यःल्हायेगु गरी देवतालाई आवहान गर्ने गरिन्छ ।

आरतिपछि प्रसाद स्वरूप कृष्ण गुठीले हलुवाको साथमा अदुवा, चाकु र ज्वानो बाँड्ने चलन पनि रहि आएको छ ।

काठमाडौंको नेवार समुदायमा परिवारमा बच्चाको जन्म हुने बेला यसरी अदुवा, चाकु र ज्वानो खाने चलन छ । यसलाई स्थानीय नेपालभाषामा सिचु पालु भनिन्छ ।

Categorized in संस्कृति