arin enterprises

मृतक संख्या दिनहुँ बढ्दै, एकैपल्ट ८ जना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया एक महिलाको आज निधन भएको छ । 

मंगलबार राती १ः१५ बजे किस्ट मेडिकल अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको निधन भएको हो भने आज विहानमात्र उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो, पखाला र वान्ताको समस्या देखिएकी उनलाई गत २६ गते पाटन अस्पतालले किस्ट रिफर गरेको थियो ।

त्यसैगरी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाका ७१ वर्षीय पुरुषको पनि आजै मेडिसिटी अस्पतालमा निधन भएको छ ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाकै वडा ८ निवासी ३८ वर्षीय महिलाको आज १ः०५ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उनी गत १८ गते पाटन अस्पताल भर्ना भएकि थिइन् ।

मोरङ जिल्ला बुढिगंगा गाउँपालिका २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको पनि आजै विहान विपि कोइराला स्वास्थ्य विज्ञानमा प्रतिष्ठान धरानमा निधन भएको छ ।

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका तौलिहवाका ४२ वर्षीय पुरुषको आज विहान ४ः२५ बजे, बुटवल कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको पनि आजै किस्ट मेडिकल कलेज ललितपुरमा मृत्यु भएको छ ।

साथै धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका ३२ वर्षीय यूवकको हिजो ह्याम्स अस्पतालमा निधन भएको छ । 

रुघाखोकी र ज्वरो देखिएपछि धादिङकै स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुँदै २७ गते मंगलबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेका थिए । उनको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज नगरपालिका ६ सिराहारोड बस्दै आएका ७२ वर्ष पुरुषको पनि हिजै निधन भएको छ ।

चार दिन अघि ज्वरो आएपछि उनको स्वाब संकलन गरी परिक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो । 

कोरोना संक्रमण पोजेटिभ देखिएपछि आइसोलेसनमा लग्न उनको घरमा पुगेको एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको बताइएको छ । मृतक पुरुष मुटु, थाइरोइड, मधुमेह र उच्च रक्तचापको समेत विरामी थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

Categorized in समाज