हुन सकेन पाटनमा भीमसेन जात्रा (फोटो फिचर सहित)
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २९, बिहिबार

कोरोना महामारीका कारण आज पाटनको प्रशिद्ध भीमसेन जात्रा पनि प्रभावित भएको छ ।
पाटन मंगलबजारमा अवस्थित भीमसेनको सानो मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गराउँदै मनाइने भीमसेन जात्रा आज कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो ।
बाजागाजासहित उल्लासमय वातावरणमा हुने खट जात्रा बन्द भएको अवस्थामा आज भीमसेनको मूर्तिलाई मन्दिरको तल ढोकामा राखी सर्वसाधारणलाई पूजा गर्न दिइएको थियो ।
विगतका वर्षहरुमा भीमसेनको पूजाका लागि ललितपुर लगायत काठमाडौं, भक्तपुर, थिमि, कीर्तिपुर लगायत उपत्यका वरपरका विभिन्न स्थानबाट ठुलो संख्यामा व्यापारीहरु आउनेमा यस वर्षमा भने भीड निकै कम थियो ।
आज बिहान ४ बजेदेखि नै पूजा र दर्शनका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थीहरू लामबद्ध भइसकेका थिए ।
विगतका वर्षहरुको तुलनामा संख्या कमै भएपनि वर्तमान समयमा संक्रमणको जोखिमको अवस्थामा भने त्यो संख्या पनि जोखिमपूर्ण नै मान्न सकिन्थ्यो ।
दर्शन गर्न पुगेका कतिपय दर्शनार्थीको मुखमा मास्क पनि देखिएको थिएन भने सामाजिक दुरीलाई पनि खासै ख्याल गरिएको थिएन ।
केही दिन अघि मात्रै कृष्णाष्टमीको दिनमा पुरै मंगलबजार क्षेत्र सिल्ड झैं नै गरी स्वयमसेवक र प्रहरीहरुको बाक्लै उपस्थितीले भीड नियन्त्रण गरिएकोमा आज त्यस्तो केही तयारी पनि देखिएन ।
यस विषयमा मंगलबजार प्रहरी प्रमुख इन्सपेक्टर रामेश्वर त्वातिले कृष्णाष्टमी र आज भीमसेन जात्रा दुवै दिनमा मंगल टोल सुधार संघसँगको समन्वयमा स्थानीय वासिन्दाको सल्लाह अनुसार भएको बताए ।
‘विहानदेखि कोरोना सचेतनाको सन्देश सहित माइकिङ पनि गरिएको थियो भने भीड नियन्त्रण गर्नको लागि प्रहरीहरु निरन्तर ड्यूटीमै बसेका छन्’ त्वातीले भने । ‘मास्क नलगाई आउनेलाई हामीसँग भएको मास्क पनि बाँडेका थियौं, हामीले सकेजति गरेका छौं ।’
पट्को, बखुम्बहाल र शंखमूल जाने व्यस्त बाटोमा भीमसेन मन्दिर परेकोले पनि त्यो क्षेत्र पुरै गर्न नसकिने अवस्था रहेको त्वातीले बताउनुभयो ।
यस सम्वन्धमा मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले स्थानीयको अनुरोधका कारण कृष्णाष्टमीको दिनमा जस्तो आज कडाई गर्न नसकिएको बताए ।
‘मन्दिरको पुनर्निर्माणमा सहयोग गर्नुहुने स्थानीय व्यापारीहरुले सामाजिक दुरी कायम गर्दै, सावधानी अपनाएर पूजा गर्छौं, बन्द नै नगरी दिउँ भनेर अनुरोध गरे,’ अध्यक्ष प्रधानले भने । ‘सहयोग चाहिने बेला, अहिले पूजा नै गर्न नदिने भनेपछि हामीलाई अप्ठ्यारो पर्यो ।’
तर स्वयमसेवकहरु परिचालन गरी, मन्दिरकै बाहिर हात धुन पानी ट्याङ्कि र स्यानिटाइजर पनि राखिदिएको उहाँले जानकारी दिनुभयो ।
दिउँसो २ बजेसम्म सर्वसाधारणबाट पूजा लिइसकेपछि मन्दिर बन्द गरिएको थियो भने बाहिरैबाट दर्शन गर्न सकिने गरी बेलुकी करीब ८ बजेसम्म भीमसेनको मूर्तिलाई मन्दिरको ढोकामा राखिएको थियो ।
काठमाडौं उपत्यकाभित्र जात्राको मौसम चलिरहेको यो समयमा आस्था र विश्वाससँगै व्यवहारीकतालाई विर्सन नहुने अवस्था पनि छ ।
विभिन्न जात्रा, चाडपर्व मनाउने क्रममा पुरै समाज संक्रमित नबनोस् भन्नेतर्फ सरोकारवाला निकाय, संघसंस्थाको साथमा स्थानीय वासिन्दा पनि सचेत हुनु आवश्यक छ ।
