arin enterprises

आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी

SamacharDesk – बिकाश | २०७७ श्रावण ३०, शुक्रबार

नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई हेर्ने हो भने काठमाडौं उपत्यका हटस्पट बन्दै गइरहेको छ ।

पछिल्ला दिनहरुमा नयाँ संक्रमितको उच्च संख्या काठमाडौं जिल्लामै देखिरहेका छन् भने काठमाडौं उपत्यकाभित्र एक सय भन्दा माथि नयाँ संक्रमितहरु भेटिरहेका छन् ।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेबाट कडाई गरिने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकबाट स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरिएको छ ।

आज राति १२ बजेबाट लागू हुने गरी जारी गरिएको निषेधाज्ञा अनुसार खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्नको साथै सभा, जुलुस गर्न निषेध गरेको छ ।

भीडभाड हुने जात्रा महोत्सव संचालन गर्न, नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिहरु गर्न, चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु गर्न पनि निषेध हुनेछ ।

उद्योग व्यापार÷व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु, शैक्षिक संस्था संचालन गर्न, उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसार पसार गर्न पनि आज राति १२ बजेबाट निषेध हुनेछ ।

सबै प्रकारका गोष्ठी, सभा, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न पनि पाइने छैन ।

फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा/साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न पनि नपाइने भएको छ ।

Categorized in समाज