साधारण ढङ्गले सम्पन्न गरियो पञ्जरां पर्व
SamacharDesk – बिकाश | २०७७ भाद्र १, सोमबार

आज भाद्र कृष्ण त्रयोदशी वौद्ध धर्मावलम्बी नेवाःहरुले पञ्जरां (पञ्चदान) पर्व मनाएका छन् ।
बौद्ध धर्ममा दान पारमिताको अत्यधिक महत्व रहिआएको छ । दश पारमिता मध्ये दानपारमिता पहिलो स्थानमा पर्दछ ।
सिद्धार्थ गौतमले दश पारमिता पूर्ण गर्नुभइ बुद्धत्व प्राप्त गर्नु भएको भनिन्छ ।
पञ्जरां पर्व प्राचीन नेपाल खाल्डो भनिने काठमाडौं उपत्यकाभित्र काठमाडौं, भक्तपुर, किर्तिपुर, पनौति, शंखरापुर र बनेपा आदी ठाउँमा मनाइन्छ ।
दिपंकर बुद्धको सर्वसंघलाइ पञ्जरां दान दिने चलन रहिआएको छ । गुरू, बज्राचार्य, शाक्य भिक्षुहरू दिपंकर बुद्धको सर्वसंघ हुन् भन्ने मान्यता रहिआएको छ ।
बौद्ध भिक्षुहरुको साथै बज्राचार्य तथा शाक्य कुलका बरे छुइ (उपनयन सँस्कार) गरिसकेका सबैले कम्तिमा सातवटा बहा, बहि र जजमान र सर्वसाधारणको घरघरमै गई पञ्जरां अर्थात पञ्चदान लिन जानुपर्ने परम्परा रहि आएको छ ।
पञ्जरांमा मुख्यतः जमिनबाट उब्जने र मानव जीवनयापनकालागि आवश्यक बस्तुहरू दान दिने चलन रहिआएको छ ।
यसमा पुजा, भोजन (खीर भोजन), पान, औषधि (गुलः) तथा दैनिक जिवनयापनमा आवश्यक पर्ने अन्न, गेडागुडी, फल आदीका साथ दक्षिणा पनि दिने परम्परा रहिआएको छ ।
आफु मैत्रि भावमा रहेर दान गरिने प्रथा रहिआएको छ ।
तर यो वर्ष पञ्जरां पर्व पनि कोरोना महामारीका कारण प्रभावित हुन पुगेको छ ।
दान लिने र दिने शाक्य बज्राचार्य तथा भिक्षुहरु ठुलै संख्यामा भेला हुने दिनमा आज भने साधारण ढङ्गले भीडभाड हुन नदिइ औपचारिकता मात्र पूरा गर्दै पञ्जरां पर्व सम्पन्न गरिएको छ ।
Categorized in संस्कृति