संक्रमित र जोखिमयुक्त ठाउँमा निस्संक्रमण गर्दै काठमाडौँ महानगर
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र ५, शुक्रबार

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रमण गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्सन गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी जनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।
‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ’ शाक्यले भन्नुभयो । ‘गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएका छौं ।’
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिनुभयो ।
मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको सापकोटाको भनाई छ ।
उहाँले निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
Categorized in स्थानीय