१२ जना संक्रमितको निधन, उपत्यकामा ६ जना
SamacharDesk – बिकाश | २०७७ भाद्र १३, शनिबार

तुलनात्मक रुपमा संक्रमितको संख्या केही घटेर राहत महसूस गरेको काठमाडौं उपत्यकामा आज मृत्यु संख्या भने बढेको छ ।
काठमाडौंमा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ६ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
काठमाडौं उपत्यकामा महिला २ जना र ४ जना पुरुषहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
काठमाडौंमा ५१ वर्षीय महिला एकजना र ८३ वर्षीय पुरुष गरी २ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ६२ वर्षीया महिला एक जना र ८२ वर्षीय पुरुष एक जना अनि ललितपुरमा ७२ वर्षीय र ६१ वर्षीय पुरुष एक÷एक जनाको मृत्यु भएको छ ।
पाल्पामा ३० वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय पुरुष एक/एक जना, सिराहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष र कास्कीमा ५८ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । नेपालमा कोरोना संक्रमितको मृतक संख्या २ सय ७ पुगेको छ ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणका कारण हुने मृत्यु दर बढ्दै गएको छ ।
Categorized in समाज