कुमारीको रथ त तानियो नि आज
SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ ।
हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने भन्नाले बसन्तपुरबाट मरु, चिकंमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्यूमत, क्वहिति, भीमसेनस्थानबाट मरुटोल हुँदै बसन्तपुर पुगेर रथ यात्रा सम्पन्न गर्ने गरिन्छ ।
पुर्णिमा दिन पनि कुमारी, भैरव र गणेशको रथलाई वसन्तपुरबाट तानेर प्याफल, यट्खा, टेंगल, न्ह्यौखा, बांगेमुढा, न्हायकंटोल, असन, बालकुमारी, जनबहाल, ईन्द्रचोक हुँदै फेरी बसन्तपुरमा नै पुगेर रथ यात्रा सम्पन्न गर्ने गरिन्छ ।
यो दिनको जात्रा राष्ट्रप्रमुखबाट समेत अवलोकन गर्ने परम्परा छ ।
काठमाडौंको थःने (माथिल्लो क्षेत्र) मा रथ तानेर जात्रा गरिने आजको दिनको विशेषता भनेको समयबजि हो । सबै नेवार समुदायले समयबजि बनाएर खाने दिन भएकोले आजको दिनलाई समयबजि पुन्हि पनि भनिन्छ । स्थानीय नेपालभाषामा पुर्णिमालाई पुन्हि भनिन्छ ।
रथ सँगसँगै युवाहरुको समूह ‘ला छकू वयक समयबजि, वल वल पुलुकिसि’ (मासु एक टुक्रा आइकन समयबजि, आयो आयो पुलुकिसि) भनी कराउँदै समयबजि माग्दै आउनेबेला जात्राको रौनक नै अर्को देखिने गर्दछ ।
झन लाखेय्, पुलुकिसि, सवःभगु (हल्चोक आकाश भैरवनाथ) आदि जस्ता झाँकीले काठमाडौंलाई झलमल्ल नै बनाएको हुन्छ ।
अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई चिनाउने जिवीत देवी कुमारीको रथ जात्रा काठमाडौं साथै देशैभरका नेवार समुदाय र समस्त नेपालीहरुको लागि समेत गौरवको सँस्कृति हो ।
तर यसपालि क्वःनेयाः र थःनेयाःमा रथ तानिएन । न त पुलुकिसि नै झुम्यो न त लाखेय्, झ्यालिंचा, आकाश भैरवनाथ, महाकाली नाच नै भयो, न त वसन्तपुरमा दशअवतार नै देखाइयो ।
काठमाडौं झलमल्ल रहने यो समय अहिले उजाड देखिएको छ । कोरोना महामारीका कारण संक्रमणको जोखिमलाई ध्यानमा राखेर ईन्द्रजात्रा बेला बाहिर गरिने सम्पूर्ण साँस्कृतिक गतिविधि स्थगित हुँदा सबैलाई यो समयमा न्यास्रो लागेको छ ।
आज काठमाडौंका नेवार समुदाय घरघरमा समयबजि तयार गरेर खाँदै त छन् । तर विगतका वर्षहरुमा झैं रमाउन भने सकेका छैनन् ।
यस्तो अवस्थामा आज साँझ थःनेवासीका लागि केही क्षणले रमाइलो भने दिएको छ ।
यसपालि रथ जात्रा हुन नसकेको अवस्थामा काठमाडौं भीमसेनस्थान निवासी सुरज सायमिले कुमारीको सानो रथ एउटा बनाएका थिए । निकै आकर्षक देखिने उक्त रथ सायमिले दिनहुँ सार्वजनिक रुपमा प्रदर्शनमा राख्ने गरेका छन् ।
आज पनि उक्त रथ काठमाडौंको बाङ्गेमुढा चोकमा प्रदर्शनीमा राखिएको थियो ।
साँझको ५ बजेतिर बाजागाजाको आवाज घन्कियो, हःस्ते हैंस्तेको आवाज पनि सुनियो । उराठलाग्दो समयबजि पुन्हि मनाइरहेका थःनेवासीहरु अचम्ममा परे । सबै जना आ आफ्नो घरको झ्यालतिर कुदे ।
सबैले देखे, युवाहरुको २० जना जतिको सानो समूह सोही सानो रथलाई तान्दै आइरहेका थिए । एक हिसाबले भनौं, प्रतिकात्मक रुपमा कुमारीको रथ जात्रा भएको थियो ।
ठुलो जनसमुदायको उपस्थितीमा विभिन्न झाँकीहरुको साथमा रौनकमय रथ जात्रा मनाउन नपाइएपनि सुरज सायमिले बनाएको उक्त सानो रथबाट प्रतिकात्मक रुपमा रथ जात्रा मनाईँदा थःनेवासीहरुलाई त्यो क्षणले पनि केही राहत, केही उल्लास भने थपेको थियो ।
Categorized in संस्कृति