ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित
SamacharDesk – शिवेश शर्मा | २०७७ भाद्र १८, बिहिबार

आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो ।
आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो ।
तर कोरोना महामारीका कारण यसवर्ष यो पर्व पनि प्रभावित हुन पुगेको छ । यस वर्ष पूर्णचण्डी भूजा नराखिनुको साथै पूर्णचण्डी देवीको जात्रा पनि नहुने भएको छ ।
यसवर्ष क्षमा पूजामा मात्र गरी यो पर्व सम्पन्न गरिएको छ । भूजाको सट्टामा किस्ली चढाई जात्रा स्थगित गरिएको हो ।
पूर्णचण्डी भूजाको जानकारी र ईतिहास
यसरी चढाइने वा पूर्णचण्डी परिसरमा ठुलो र सानो गरी दुई प्रकारको भूजा राख्ने गरिन्थ्यो ।
६२ हरण काण्ढमा रणबहादुर शाहले भूजा गुठीको सबै जग्गा हरण गरेपछि आर्थिक रूपमा यो जात्रा चलाउन गार्हो भयो र ठूलो भूजाको सट्टामा सानो भूजा मात्र राखी जात्रालाई निरन्तरता दिइएको थियो ।
पछि राणाकालमा गाःबहाः छेँःका अमात्यहरू सरकारी (सा’ब) पदमा पुगेपछि तत्कालिन प्रधानमन्त्रीले ‘के बक्सन्छस् ?’ भनी सोध्दा ६२ हरणमा हरण गरिएका जग्गा फिर्ता गर्न अनुरोध गरेपछि भूजा गुठीले आफ्नो आर्थिक श्रोत फिर्ता पाएको थियो ।
यसपछि पुनः ठूलो भूजा राख्ने चलन शुरु भयो । तर विगतको दिनलाई नबिर्सन सानो भूजा पनि राखिने गरिएको हो ।
जात्राको विधि
विगतमा यो जात्रा पूर्णरूपले ललितपुरका राजोपाध्याय ब्राह्मणका ३ कूलले चलाउने गर्थे ।
राजाको ढुकुटीमा गइसकेको गुठीको जग्गा फिर्ता लिएपछि राजाको सम्पति खानुहुन्न भनी फिर्ता गरिएका सम्पति राजोपाध्यायहरुले स्वीकार गरेनन् ।
त्यसपछि गाःबहालका अमात्यहरूले सबै सामान जुटाइदिने र ब्राह्मणहरूले जात्रा मात्र गर्न भनेपछि सो जात्राले पुरानै रूप पाएको हो ।
यसपछि ललितपुरको स्वथ, बकनिम्ह र वलानिम्ह गरी राजोपाध्यायका ३ कूलबाट राखिने १२ वटा भूजामा स्वथको भागमा आउने २ वटा भूजा गाःबहाःछेँका अमात्यहरूलाई जिम्मा दिइयो ।
३ कुलको पालो परम्परा
यस्तै पूर्णचण्डी देवीको प्रतिमा पनि ३ वटा कूलको थकालीका घरमा पुर्याइन्छ ।
सुरूमा स्वथ, अनि बकनिम्ह र त्यसपछि वलानिह्म अनि पुनः स्वथ गरी यो पालो चलिरहन्छ ।
आजको दिन, साँझ स्वथको थकालीको घरबाट देवीको प्रतिमा, बाजागाजा सहित खटजात्रा गरी पूर्णचण्डी लगिन्थ्यो ।
त्यस्तै भोलि पूर्णचण्डीबाट बकनिह्म लगिन्छ, अर्को वर्ष आजकै दिनमा बकनिह्मबाट पूर्णचण्डी र भोलिपल्ट वलानिह्म । यसरी नै यो चक्र घुमिरहन्छ ।
यसवर्ष देवता स्वथमा छ । देवता कुनै घरमा २ वर्ष रहनु पनि यस जात्राका लागि इतिहास बनेको छ ।
Categorized in संस्कृति