arin enterprises

पुल्चोकको झडपमा पक्राउ परेकालाई रिहा गर्न ललितपुरका जातीय संगठनहरुको माग

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

ललितपुरका १९ वटा जातीय संगठन लगायतले ललितपुरको रथजात्रामा भएको झडपलाई लिएर पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न माग गरेको छ ।

ललितपुरका १९ वटा जातीय संगठन र नेपालभाषा मंकाः खलः यलले संयुक्त विज्ञप्ती जारी गर्दै घरघरमा गएर धरपकड गर्ने कार्य तत्काल बन्द गरी हिरासतमा रहेका सम्पूर्णलाई रिहा गर्न माग गरेको हो ।

रथ तान्ने प्रयत्न हुँदा उत्पन्न परिस्थितीमा संलग्न समूहको विविध प्रविधिको प्रयोग गरी पहिचान गर्दै प्रहरी प्रशासनले घरघरमै गएर गरेको धरपकडमा मंकाः खलः लगायत १९ वटा जातीय खलःपुचःको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको रथ जात्रा राज्यले बेवास्ता गरी अलपत्र बनाएको भन्दै एक समूहले गत विहिबार रथ तान्ने प्रयास गरेको थियो भने प्रहरीले हस्तक्षेप गरी सो समूहलाई रोकेको थियो ।

घटनाको क्रममा प्रहरीले लाठी चार्ज गर्नुको साथै पानीको फोहरा र टियर ग्याँस समेत प्रहार गरेको थियो ।

घटनामा प्रदर्शनकारी, पत्रकार र केही प्रहरी समेत घाइते भएको थिए ।

घटनामा संलग्न केहीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो भने केहीलाई घरघरबाटै पक्राउ गरेको थियो । घटनामा केही संचारकर्मी समेत पक्राउ गरिएको थियो ।

आज जातीय खलःपुचः र मंकाः खलः यलबाट जारी विज्ञप्तीमा स्थितीलाई आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सम्वन्धित सबैलाई संयमित रहन पनि आग्रह गरिएको छ ।

अहिलेको विषम परिस्थितीमा मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न गर्न जातीय खलःपुचः हरसम्भव प्रयासरत रहेको र सम्वन्धित सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

साथै संक्रमणको जोखिमलाई कम गर्न यस वर्ष नखत्या बोलाउने र नखत्या जाने कार्य पूर्ण रुपमा बन्द गर्न पनि जातीय खलःपुचःको साथमा मंकाः खलः यलले आग्रह गरेको छ ।

Categorized in समाज