करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण
SamacharDesk – बिकाश | २०७७ आश्विन २६, सोमबार

कुलेश्वर महादेव मन्दिर परिसरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास गर्नुभयो ।
करीब १ करोड २० लाखको लगानीमा उक्त पार्क निर्माण हुन लागेको कामपा १४ वडाका वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिनुभयो ।
सो अवसरमा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थिति रहेको थियो ।
कामपाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना बनाएको छ ।
ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।
‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ कुलेश्वर पार्कको शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो, ‘हामी ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’
अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै प्रमुख शाक्यले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताउनुभयो ।
Categorized in स्थानीय