१२ वर्षपछि योगनरेन्द्र मल्ललाई फुल अर्पण गरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ कार्तिक १०, सोमबार

विजया दशमीको अवसरमा ललितपुर लायकूमा १२ वर्षपछि आज राजा योगनरेन्द्र मल्ललाई फुल अर्पण गरिएको छ ।
विजया दशमीमा ललितपुरको तलेजु भवानीलाई गर्भगृहमा प्रस्थान गराइसकेर योगनरेन्द्र मल्ललाई फुल अर्पण गर्ने परम्पराले आज फेरी निरन्तरता पाएको हो ।
आज तलेजु भवानीलाई गर्भगृहमा प्रस्थान गराइसकेर तलेजुका पूजारी ब्राम्हण संजय शर्मा राजोपाध्यायले दिगु तलेजुको बरन्डामा पुगी योगनरेन्द्र मल्ललाई फुल अर्पण गरेका थिए ।
यो परम्परा टुटेको १२ वर्ष भइसकेको थियो भने आजबाट फेरी यसले निरन्तरता पाएको हो ।
तलेजु भवानीलाई गर्भगृहमा प्रस्थान गराइयो
पाटन दरबारको तुलजा (तलेजु) भवानीलाई मंगलबजारको मूलचोकमा अवस्थित दशैं घरवाट गर्भगृहमा प्रस्थान गराइएको छ ।
आज तुलजा भवानीलाई पाटनको वकनिम्ह कवलका राजोपाध्याय ब्राह्मणद्वारा देवीलाई दशैघरवाट निकालि खड्गसहित माथि गर्भगृहमा फर्काएको हो ।
तुलजा भवानीलाई दशैं घरबाट गर्भगृहमा प्रस्थान गराउने यो परम्परालाई स्थानीय नेपालभाषामा ‘द्यः थहां बिज्याकेगु’ भनिन्छ ।
गर्भगृहमा भएकी तुलजा भवनीलाई सप्तमीको दिन मूलचोकको दशैं घरमा राख्न ल्याइन्छ भने दशमीमा गर्भगृहमा फर्काइन्छ ।
यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण आवश्यक पूजारी लगायतका व्यक्तिहरु मात्र उपस्थित भई साधारण विधि मात्र पुरा गरिएको छ ।
यसैगरी काठमाडौं र भक्तपुर तलेजुमा पनि ‘द्यः थहां बिज्याके’ सम्पन्न भएको छ ।
काठमाडौंको तलेजु भवानीलाई विहानको १० बजेर १९ मिनेटको साइतमा मूलचोकको दशैंघरबाट माथि रहेको तलेजु मन्दिरमा लगिएको थियो ।
त्यसैगरी भक्तपुरमा पनि साधारण पूजा गरी ‘द्यः थहां बिज्याके’ को औपचारिकता पूरा गरिएको छ ।
भक्तपुर तलेजुबाट राती निकालिने खड्ज जात्रा ‘पायाः’ पनि यस वर्ष दिउँसो नै सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष दिउँसै पायाः निकाली विधि पुरा गरिएको हो ।
फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in संस्कृति