पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक १९, बुधबार

पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
सोही अस्पतालमा पिसिआर टेस्ट गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएपछि उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो ।
उपचारको क्रममा उनको शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेर श्वासप्रश्वासमा समस्या देखिनुको साथै निमोनिया पनि देखिएको थियो । त्यसपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
गत कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो भने आज विहान उनको निधन भएको हो ।
उनी गत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।
कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएकी उनको दुई छोरा र दुई छोरी रहेका छन् । उनको जन्म २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा भएको थियो ।
Categorized in समाज