छत्रपाटी अस्पतालमा लिफ्ट जडान गर्न काठमाडौँ महानगरपालिकाबाट सहयोग
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक २२, शनिबार

काठमाडौँको पुरानो वस्तीमा अवस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ ।
२०१३ सालमा स्थापना भई स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको सो चिकित्सालयलाई कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा अनुदान सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापत्रमा हस्ताक्षरपछि कामपा प्रमुख शाक्यले थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महशुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउन सुझाव दिनुभयो ।
प्रमुख शाक्यले चिकित्सालयको नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको स्मरण गराउनुभयो ।
सो अवसरमा शाक्यले काठमाडौँ महानगरपालिकाभित्र कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
चिकित्सालयका अध्यक्ष डाक्टर श्रेष्ठले २५ शैयाको चिकित्सालयले कोभिड–१९ को संक्रमण भयावह भैरहेका बेला पनि नागरिकको घर–दैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो ।
उहाँले करीब ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै भवन निर्माणका लागि महानगरपालिकाको पाँच करोड सहयोगको प्रतिवद्धताले आफुहरु थप उत्साहित भएको बताउनुभयो ।
उहाँले अहिले चिकित्सालयबाट मुटु, स्वासप्रश्वास, दन्त सेवालगायतका विशेषज्ञ स्वास्थ सेवा दिइरहेको पनि जानकारी दिनुभयो ।
Categorized in स्थानीय