arin enterprises

कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न मेयर शाक्यको निर्देशन

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक २८, शुक्रबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज पुग्नुभएका प्रमुख शाक्यले पोखरी पुनर्निर्माणको काम निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन निर्देशन दिनुभयो ।

‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनुहुन्न ।’

शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षकको केन्द्र बन्ने दाबी समेत गर्नुभयो । उहाँले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिनुभयो ।

आयोगका अनुसार पोखरी छिर्ने द्वार नेपाली स्वरुपको हुनेछ भने पोखरीको विभिन्न ठाउँमा चैत्य राखिनुको साथै पाँचओटा मकरधारा समेत निर्माण हुनेछ ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कमलपोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान रहने जानकारी दिनुभयो । उहाँले अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भैरहेको बताउनुभयो ।

इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालेले ४५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । कँडेल र सिटौलाले प्रमुख शाक्यसँगै अनुगमनमा पुगेका सबैको सामु फागुन मसान्तसम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

६ करोड ३६ लाखको लगानीमा कमलपोखरीको पुनर्निर्माण भइरहेको छ ।

Categorized in स्थानीय