arin enterprises

खुलामञ्चको विकल्पमा अब प्रसुति गृह नजिकै निशुल्क भोजन

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर ४, बिहिबार

विगतका दिनमा काठमाडौंको खुला मंचमा संचालन हुँदै आएको निःशुल्क भोजन अभियान अब थापाथलिस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल पछाडीको खुला स्थानमा शुरु भएको छ ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिपछि थापाथलीमा निःशुल्क भोजन गराउने कार्य सुरु भएको हो ।

असहाय, अशक्तलाई भोजन गराउँदै आएका संघसंस्थाकै अनुमति र सहमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक खानाको व्यवस्था गरेको जानकारी कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दिनुभयो ।सापटकोटाले पार्टी प्यालेस जस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउनका लागि पहल भइरहेको पनि जानकारी गराउनुभयो ।

निशुल्क भोजनको गराउने स्थानमा सौचालय, खानेपानी, फोहर फाल्ने स्थान आदिक जस्ता पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो । काम गर्न नपाएर भोकै बस्नुपर्ने स्थिती भएमा हरेक विहान ९ बजे थापाथलीमा खाना खान आउन पनि अध्यक्ष पन्तले आग्रह गर्नुभयो ।

खाना खान आउनेहरुलाई पायक पर्ने गरी र संक्रमणको जोखिम न्यूनीकरणका लागि भीडभाड हुन नदिन पनि ५–६ ठाउँमा खाना खाने व्यवस्था मिलाउन प्रयासरत रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रममा खान, वस्न तथा उपचारको सुविधा उपलब्ध गराएको नगर प्रहरी प्रमुख सापकोटाले बताउनुभयो ।

Categorized in स्थानीय