arin enterprises

दशअवतार प्रदर्शनले निरन्तरता पायो

SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ६, शनिबार

निरन्तरताको आशंकाका बीच ईन्द्रजात्रा दशअवतार प्रदर्शनीले अन्ततः यसपाली पनि निरन्तरता पाएको छ । दशअवतार प्रदर्शन यसपाली निरन्तर नहुने चर्चाका बीच ईन्द्रजात्राको पहिलो दिन शुक्रबार दशअवतार प्रदर्शन गरियो ।

दशअवतारका कलाकार र गुठीबीच सहमति भएसँगै दशअवतार प्रदर्शनीले निरन्तरता पाएको हो । यसभन्दा अघि, व्यवस्थापनमा समस्या र उपलब्ध बजेट निकै कम रहेको भन्दै कलाकार समूहले यसपाली दशअवतार प्रदर्शन निरन्तर नहुने अवस्था रहेको बताउँदै आएका थिए । आगामी दिनमा विद्यमान समस्यामा छलफल गर्दै समाधान गर्ने सहमति दुइ पक्षबीच भएको हो । 

ईन्द्रजात्राको शुरुवातसँगै शुरु गरिने दशअवतार प्रदर्शनमा आज दुईवटा प्रस्तुति मात्र प्रदर्शन गरियो । विगतमा दिनको ७–८ वटा प्रस्तुति प्रस्तुत गरिनेमा यसपाली भने पहिलो दिनमा दुइवटा मात्रै प्रस्तुति प्रदर्शन गरियो ।

‘गुठीका दीपकप्रसाद श्रेष्ठसँग हामीले छलफल गरेका थियौं । यसपाली सक्दोसम्मको प्रयास गर्ने हामीले भनेका थियौं । अहिले निकै गार्हो स्थिती छ । यसलाई दीर्घकालीन समाधानतर्फ लानुपर्छ’ दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजका पर्यवेक्षक साथै दशअवतारका एक कलाकार राजन शाहीको भनाई थियो ।

हाल दशअवतार प्रदर्शन व्यक्तिगत तवरबातट भइरहेकोमा यसलाई संस्थागत गरिनुपर्ने आवश्यकता देखिएको समाजका अर्का पर्यवेक्षक र कलाकार शिव मानन्धरले बताए । ‘अन्य सबै समस्या भनेको गौण विषय हो । दशअवतार प्रदर्शनीलाई संस्थागत बनाइयो भने अन्य समस्या सबै समाधान हुँदै जाने र यसमा विगत लामो समयदेखि क्रियाशील कलाकार प्राविधिकहरुको पनि कदर हुनेछ’ मानन्धरले बताए ।

समूहले विहिबारमात्रै प्रेश विज्ञप्ति जारी गरेर यसपाली दशअवतार प्रदर्शनीलाई सक्दो राम्रो प्रस्तुत गर्न प्रयास गर्ने, तर आठै दिन प्रस्तुत गर्नमा आफैं पनि सशंकित रहेको जनाएको थियो । साथमा गुठी र कलाकार समूहको सहकार्यबाट यसको दीर्घकालीन व्यवस्थापनमा अघि बढ्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

Categorized in संस्कृति