कोरोना परिक्षणका लागि काठमाडौं महानगरले मोवाइल भ्यान सञ्चालनमा ल्यायो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

काठमाडौं महानगरले कोरोना संक्रमण परिक्षण गर्न स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गर्नुभयो ।
महानगर प्रमुख शाक्यले भ्यानमार्फत अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र जेष्ठ नागरिकको स्वाब संकलनलाई विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाउने जानकारी दिनुभयो ।
‘लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न हाम्रो अनुरोध छ’ शाक्यले भन्नुभयो ।
उहाँले कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निशुल्क उपचार गर्ने बताउनुभयो ।
सबैले सकेसम्म स्वास्थ्यमापदण्डको पालना गरी संक्रमण संख्या घटाउनका लागि मद्दत गर्न पनि शाक्यले आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालसहित अधिकारी लगायतको सहभागीता रहेको थियो ।
भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागले सञ्चालन गर्नेछ ।
प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिने र हरेकको स्बाव लिइसकेर कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुने जानकारी गराउनुभयो ।
यो वुथ निर्माण गर्न काठमाडौं महानगरपालिकाले ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो ।
सो कार्यक्रम लगत्तै सभागृहबाटै प्रशासन बिभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।
Categorized in स्थानीय