arin enterprises

सम्पदाको पुनर्निर्माण गरिदिँदैमा स्वामित्व समेत काठमाडौं महानगरपालिकाले लिँदैन – मेयर शाक्य

SamacharDesk – बिराज | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यहाँको स्थानीय सम्पदाको संरक्षणमा अब राज्य नै अग्रसर हुनुपर्छ भन्दै आफुहरु अघि बढेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगर प्रमुख शाक्यले पुर्खाले थुप्रै मूर्त अमूर्त सम्पदाहरु हाम्रो लागि छोडेर गएको तर त्यसको संरक्षण काठमाडौं महानगरपालिकाले नै गर्ने बताउनुभयो ।

‘काठमाडौं महानगरभित्र थुप्रै मूर्त अमूर्त सम्पदाहरु छन्, त्यसको उचित संरक्षण हुन नसक्दा जीर्ण अवस्थामा रहेको छ,’ शाक्यले भन्नुभयो । ‘अब यसको संरक्षणमा समुदायसँग सहकार्य गर्दै महानगरले गर्नेछ ।’

महानगरकै आर्थिक सहयोगमा काठमाडौंका थुप्रै मठमन्दिर लगायतका ऐतिहासिक, धार्मिक सम्पदाहरुको जिर्णोद्धार, पुनर्निर्माण भइरहेको जानकारी शाक्यले दिनुभयो । शाक्यले यहाँको अमूर्त सम्पदा संरक्षणको लागि पनि विभिन्न योजनाहरु अघि बढाएको पनि बताउनुभयो ।

उहाँले महानगर दिवसको अवसरमा विभिन्न साँस्कृतिक बाजा खलः र बाजा गुरुलाई सम्मान गर्ने क्रममा आर्थिक सम्मान रकम ५ हजार बढाएर ३० हजार पुर्‍याएको जानकारी दिनुभयो । 

‘बाजा खलः र बाजा गुरुलाई सम्मान र प्रोत्साहनस्वरुप हामीले महानगर दिवसमा उहाँहरुलाई २५ हजार रुपैयाँ सहित सम्मान गर्ने गरेका थियौं,’ शाक्यको भनाई थियो । ‘यस वर्ष यो रकम बढाएर ३० हजार पुर्‍याएका छौं ।’

कोभिड महामारीका कारण यस वर्षको महानगर दिवसको कार्यक्रम सिमित व्यक्तिहरुको सहभागीतामा बन्द हलमा आयोजना गरिने शाक्यले जानकारी गराउनुभयो ।

आज आयोजित कार्यक्रममा महानगर प्रमुख शाक्यले काठमाडौंको ज्याथास्थित ज्याथा पञ्चदान गुठी प्रजापति खलःको भवनको शिलान्यास गर्नुभएको थियो ।

सम्पदा पुनर्निर्माणमा सके समुदाय वा गुठीले पनि सहकार्य गर्न सकिने तर आर्थिक समस्या भएमा काठमाडौं महानगरपालिका स्वयमले पनि गरिदिने बताउँदै शाक्यले पुरै रकम काठमाडौं महानगरपालिकाले लगानी गर्दैमा स्वामित्व समेत स्थानीय सरकारले नै लिने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

‘कसैकसैले सम्पदा पुनर्निर्माणमा स्थानीय सरकारले लगानी गरे स्वामित्व पनि उसैले लिन्छ भन्ने भ्रम रहेछ,’ शाक्यले स्पष्ट पार्नुभयो । ‘चिन्ता नलिनुस्, स्वामित्व तपाईँहरुकै रहन्छ, काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा आफ्नो जिम्मेवारी मात्र पुरा गरिदिने हो ।’

करीब ६ आना जग्गामा ५ करोडको लागत अनुमान गरिएको उक्त भवन एक वर्ष मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा २५ का वडाध्यक्ष नीलकाजी शाक्यले प्रजापतिको पहिचान झल्किने गरी परम्परागत स्वरुपमा भवन बनाउन गुठीलाई सुझाव दिनुभयो ।

Categorized in स्थानीय