स्वयंसेवकको योगदानको कदरमा आज स्वयंसेवक दिवस मनाईँदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

आज डिसेम्बर ५, विश्वभरी विभिन्न क्षेत्रमा खटिने स्वयंसेवकहरुको सम्मानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाईँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ ।
यस वर्षको दिवसको नारा ‘टुगेडर वी क्यान थ्रु भोलिन्टियरिङ’ (together we can through volunteering) भन्ने रहेको छ ।
नेपालमा पनि स्वयंसेवक दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिँदैछ । विभिन्न विपद्, गतिविधि लगायतमा स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा उद्धार आदि जस्ता कार्यमा स्वयंसेवकको योगदान रहँदै आएको छ ।
स्वयंसेवकको सेवाको महत्वपूर्ण योगदानको बारेमा जागरूकता बढाउन यो दिवस मनाइन्छ ।
स्वयंसेवकहरुको योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयलगायत विभिन्न संघसंस्थाको समेत सहकार्यमा राष्ट्रिय स्वयंसेवा पुरस्कारसमेत घोषणा गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले स्वयंसेवकको नीति बनाउन आफुहरु लागिपरेको बताउनुभयो ।
‘स्वयंसेवकको स्पष्ट नीति बनाउन आवश्यक भएको नेपाल सरकारले महसुस गरिरहेको छ,’ ढुङ्गेलले भने, ‘युवा परिषदको तर्फबाट स्वयंसेवक नीतिको जिरो ड्राफ्टको छलफल आरम्भ गरिसकेका छौं ।’
नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । नेपालको पहिलो स्वयंसेवी संस्था ‘परोपकार’को स्थापना भने वि.सं. २००४ सालमा भएको हो ।
समाजमा गुठी जस्ता साँस्कृतिक अभ्यासको माध्यमबाट पनि विभिन्न सामाजिक गतिविधि हुँदै आएका छन् । तर पछिल्लो समयमा प्रविधिको विकास र बढ्दो प्रयोगले मानिसहरुका स्वयमसेवाको भाव घट्दै गएको देखिन्छ ।
१७ डिसेम्बर १९८५ मा संयुक्त राष्ट्र महासभाले आर्थिक र सामाजिक विकासको लागि अन्तर्राष्ट्रीय स्वयंसेवक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
Categorized in समाज