काठमाडौका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर २६, शुक्रबार

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा २ हजार आधुनिक सडक बत्तिहरु जडान हुन लागेको छ । बत्ती जडान गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति हुँदै सहमति पत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तरगत यो योजना अघि बढेको बताउनुभयो ।
‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने । यस आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’ सहमतिपत्रमा भनिएको छ,’ सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने ।’
सहमति अनुसार काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहनेमा लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने छ ।
Categorized in स्थानीय