महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर २८, आइतबार

काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ ।
२६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मृगौला बचाउ अभियान शुरु गर्ने जानकारी गराउनुभयो ।
समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको कामपा प्रमुख शाक्यले बतानुभयो ।
दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी उक्त अभियान सञ्चालन गर्ने जानकारी शाक्यले दिनुभयो ।
त्यसैगरी महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो ।
‘आगामी दिनमा चाल्नुपर्ने सकारात्मक कदमका लागि महानगरवासीको अभिमत लिन यो पटक महानगर दिवसकै अवसर पारेर धेरै मानिस आवतजावत हुने शहरका विभिन्न ३० स्थानमा ‘अभिमत संकलन बुथ’ राखेका छौं’ शाक्यले भन्नुभयो ।
वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई आधार मानेर हरेक वर्ष काठमाडौँ महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको छ । कोरोना महामारीका कारण यसपालिको महानगर दिवस सकेसम्म स्वस्थ्य मापदण्डको पालना गर्दै र सीमित कार्यक्रमका साथ तयारी भएको जनाइएको छ ।
महानगर दिवसलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ ।
यस वर्ष पनि महानगर दिवसका अवसरमा काठमाडौं महानगरभित्रका परम्परागत बाजा खलःलाई सम्मानलाई निरन्तरता दिइने जनाइएको छ ।
यसै सन्दर्भमा ज्यापु समुदायका परम्परागत ६३ र खड्गी समुदायका ६० गुठी, गुंला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःभगु) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरूलाई सम्मानको कार्यक्रम रहेको छ ।
बाजा गुरु र गुठीहरुलाई जनही ३० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिने जानकारी दिएको छ ।
त्यसैगरी काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिने भएको छ ।
सो पुरस्कारबाट २ जना पुरुष २ जना महिलालाई सम्मान गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।
सेवा प्रवाहमा निरन्तर खटिरहेका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवाभावमा थप अभिप्रेरित गर्ने हेतुले ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय सेवा गौरव पदकबाट सम्मानित गर्ने पनि महानगरपालिकाले तयारी गरेको छ ।
साथै इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि रहेको काठमाडौं महानगरपालिका १५ वडाका वडाध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।
कार्यक्रम सोमबार १० बजे राष्ट्रिय सभागृहमा सम्पन्न हुँदैछ ।
Categorized in स्थानीय