आनन्दकुटीमा आइशोलेशन निर्माण कार्यले तीव्रता पायो
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर २८, आइतबार

काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी विद्यापीठको एक प्रयोगविहिन भवनमा आइसोलेसन निर्माण कार्यले तीव्रता पाएको छ । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा उक्त भवनमा आइसोलेसन निर्माण कार्यले तीव्रता पाएको हो ।
उक्त आइसोलेसनमा हाइ फ्लो अक्सिजनको समेत सुविधा हुने पनि श्रेष्ठले बताउनुभयो ।
हाल भवनको सरसफाई, मर्मत सम्भार, विजुली जडान लगायतका कार्य हुँदैछ । हाल जीर्ण अवस्थामा रहेको भवन मर्मत सम्भार र आवश्यक पुर्वाधार तयार गरी १० दिनभित्र संचालनमा ल्याउने सांसद श्रेष्ठको भनाई हो ।
यहाँका धेरै घरपरिवारमा होम आइसोलेसन बस्न विभिन्न समस्याहरु रहेको देखिएको हुँदा स्थानीय वासिन्दाको लागि यो आइसोलेसन बनाउन लागिएको श्रेष्ठले बताउनुभयो ।
‘हाल १५ वडामा आइसोलेन निर्माण कार्य शुरु भएको छ, स्थान उपलब्ध भए क्षेत्र नम्बर ८ भित्र समुदायस्तरमा आइसोलेसन निर्माण गर्ने योजना छ’ सांसद श्रेष्ठले भन्नुभयो ।
विरामीहरुको रेखदेखका लागि डाक्टर र नर्सहरुको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।
सांसद श्रेष्ठको सांसद कोषको ४ करोड रुपैयाँबाट १ करोड ५० लाख ४० हजार रुपैयाँ बजेट छुट्याएर हालको लागि ५० बेडको आइसोलेसन निर्माण गर्न लागिएको हो । भविष्यमा आवश्यक परे यसलाई ८० बेडसम्म बनाइने सांसद श्रेष्ठले जानकारी दिनुभयो ।
आइसोलेशन सञ्चालनमा रोटरी क्लब, मनाङ्ग क्लबले पनि सहकार्य गर्ने तथा कामपाको पनि पूर्ण सहयोग रहने श्रेष्ठले जानकारी गराउनुभयो ।
‘यस आइसोलेसनमा बस्नका लागि कुनै शुल्क भने तिर्नु पर्दैन, तर सक्नेले सहयोग गरे आइसोलेसनकै व्यवस्थापनका लागि स्वीकारीनेछ’ श्रेष्ठले भन्नुभयो ।
Categorized in समाज