शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न काठमाडौँ महानगरको सहयोग
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष १, बुधबार

काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिदका लागि काठमाडौं महानगरले अस्पताललाई आर्थिक सहयोग दिन लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले संमृद्ध नेपाल खुशी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
‘नीजिले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यसैले नीतिगत, संरचना, योजान र कार्यक्रममा सुधार गरेर अघि बढ्नुको विकल्प छैन ।’
काठमाडौं महानगरालिकाका मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो ।
सो अवसरमा शाक्यले अहिलेसम्म महानगरपालिकाले मात्रै करीब ३५ हजारको स्वाब संकलन गरेको पनि जानकारी दिनुभयो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. दिव्या सिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार भएको भन्दै काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो ।
कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले आकस्मिक सेवा कक्षको सिटी स्क्यान मेसिन १ वर्ष अघिदेखि कम नलाग्ने गरी बिग्रिएको कारण सेवामा असहजता भैरहेको स्मरण गराउनुभयो ।
Categorized in स्थानीय