arin enterprises

पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै गई पुरस्कारसहित सम्मान

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष १, बुधबार

काठमाडौं महानगरपालिकाका पुर्व जनप्रतिनिधि चन्द्रानन्द नेवाःलाई कामपा प्रमुख विद्यासुन्दर शाक्यले उनकै निवास म्हयपि पुगी सम्मान गर्नुभएको छ ।

धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा महानगरलाई सेवा दिएका नेवाःलाई काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर दिवसका अवसरमा ‘स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ बाट सम्मानित गरेको हो ।

प्रतिकुल स्वास्थ्य अवस्थाका कारण पुरस्कार ग्रहण गर्न कार्यक्रमस्थल पुग्न नसकेको कारण काठमाडौं महानगरपालिकाका मेयर शाक्य उनकै निवासमै पुगी आज उनलाई सम्मान पत्र र पुरस्कारको राशी समेत प्रदान गर्नुभयो ।

पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

सो अवसरमा प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कामपा १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जन उहाँको निजी निवासमा पुगेका थिए ।

‘मेरा लागि यो गौरवको क्षण हो’ सम्मान ग्रहण गर्दै नेवाःले भने ।

कामपा प्रमुख शाक्यले नेवाःलाई गुरु र अविभावकको संज्ञा दिँदै इतिहासलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

‘उहाँबाट हामीले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका छौँ, धेरै नीतिगत कुरा उहाँबाट सिकेका छौँ,’ शाक्यको भनाई थियो, ‘अझै धेरै सिक्न बाँकी छ ।’

पहिलो पटक २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित भई जनप्रतिनिधिको हैसियतमा जिम्मेवारी सम्हाल्नु भएका नेवाःले पछिल्लो पटक २०५९ सालसम्म जनप्रतिनिधिकै हैसियतमा सेवा गर्नुभएको थियो ।

तत्कालीन १२ वडा र अहिलेको १८ वडाबाट स्वतन्त्र वाम उम्मेद्वारका रुपमा वडा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएका नेवाः उप–प्रधानपञ्च हुँदै २०३२ सालपछि कार्यबाहक प्रधानपञ्चको समेत जिम्मेवारीमा रहनुभएको थियो ।

Categorized in स्थानीय