राखेपद्वारा कीर्तिपुर नगरपालिकालाई कभर्ड हल हस्तान्तरण
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष २, बिहिबार

कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई कभर्ड हल हस्तान्तरणको कागजमा हस्ताक्षर गरी हस्तान्तरण गरेको हो ।
सो अवसरमा राखेपका सदस्य सचिव सिलवालले नेपाल सरकारको प्रत्येक स्थानीय तहमा एक कभर्ड हल बनाउने नीति अनुरुप कीर्तिपुरमा पनि राखेपको स्वामित्वमा रहेको यो कभर्ड हल स्थानीय सरकारलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सदस्य सचिव सिलवालले नेपालको विकट मानिएका मुगु जिल्लामा समेत महिलाहरूले फुटबल खेललाई विकास गरेको उल्लेख गर्नुहुँदै बार्सिलोनाले समेत बोलाएर खेलाएको बताउनु भयो ।
नेपाल जुडो संघका उपाध्यक्ष समेत रहनुभएका कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर नगरपालिकाको लागि यो कभर्ड हल एक उपहार जस्तै भएको बताउनु भयो ।
नगर प्रमुख महर्जनले कीर्तिपुर नगरपालिकाले मेयर खेलकुद् प्रतियोगितासमेत गरिरहेकोमा गत वर्ष कोभिडका कारण स्थगीत गर्नुपरेको बताउँदै यस वर्ष पुनः प्रतियोगिताको आयोजना हुने जानकारी गराउनुभयो ।
कीर्तिपुर नगरपालिकाले पनि प्रत्येक वडामा एक खेल मैदानको अवधारणा अन्तर्गत कामहरू गरिरहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख महर्जनले नगरपालिकाले प्राप्त गरेको यस कभर्ड हललाई पूर्णरुपमा सदुपयोग गरी राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने विश्वास दिलाउनु भयो ।
Categorized in स्थानीय