पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई पत्रकार दबूले सम्झे
SamacharDesk – बिराज | २०७७ पौष १३, सोमबार

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिइनुपर्ने मागसहित शिक्षाविद् एवम् पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको एक सय ५औँ जन्मजयन्ती मनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार संघ गठन गरी संगठनको शुरुवात गर्नुभएका पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गरिनुपर्ने माग गरिएको थियो ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार महासंघको अध्यक्ष विवाद बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउनुहुँदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ ।’
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन माग गर्दै लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपालका पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको सन्दर्भलाई सम्झिँदै ध्यानाकर्षण पत्रमा उल्लेख छ– ‘२००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ । यसले इतिहास मेट्ने कार्य भइरहेको छ ।’
नेपाल पत्रकार महासंघका समावेशी उपाध्यक्ष दिलिप थापा मगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने वचन दिनुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन नगरेको भन्नुभयो । देशकै गौरवशाली व्यक्तित्वलाई अगाडि राखेर सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको उहाँले दावी गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूदारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर वज्राचार्यले न्यायको लागि संस्थाले निरन्तर आवाज उठाइरहने जानकारी गराउनुभयो ।
सो अवसरमा मन्त्री गुरुङ, पत्रकार महासंघका समावेशी उपाध्यक्ष मगर, मधेसी पत्रकार समाजका अध्यक्ष सिंह, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, पत्रकार दबूका अध्यक्ष बज्राचार्य लगायतले आदर्श विद्या मन्दिर (एभिएम) मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरेका थिए ।
Categorized in समाज