arin enterprises

मल्लकालीन अष्टमातृका नाच सकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७५ कार्तिक ४, आइतबार

ललितपुरको प्राचिन अष्टमातृका नाच शनिबार सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि शुरु भएको नाच गत शनिबार आश्विन शुक्ल एकादशीका दिन सम्पन्न भएको हो 

यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा बिधिवत पूजा सम्पन्न गरेपछि शुरु हुने गर्दछ । त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हुँदै मंगलबजार पुगेका देवगणहरुलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरि मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरुद्वारा नाच देखाइन्छ ।

सोभन्दा अघिल्लो दिन, औंशीको दिनमा सबै देवगणहरुले सानेपा, तिखिदेवल, बाग्मती नदी वरपरका शक्तिपीठ र नासः पूजा गर्ने परम्परा रहेको छ ।

फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ भने अन्तिम दिन अर्थात आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा बिषेश नाच देखाएर नासःछेँमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न हुने गर्दछ ।

यो नाच ने.स ७८४ मा मल्ल राजा श्रीनिवास मल्लको पालामा शुरु भएको हो । समाजमा प्रचलित जनश्रुति अनुसार राजा श्रीनिवास मल्लले सपनामा भैरव, गणेश, कुमार, सिंघिणी, व्याघ्रिणीसहितको अष्टमातृका गण नाची रहेको देखे । त्यसपछि उनले आफ्ना राजपुरोहित मधुसुदन राजोपाध्यायको सल्लाह गरी यो नाच सुरु गर्न लगाए ।

अष्टमातृका गण नाच, हरेक दिन नकबहिलबाट सुरु भई मंगलबजारमा सम्पन्न हुने गर्दछ । विगतमा बूबहाल, ओकुबहाल र नकबहिलसहित तीन स्थानबाट पनि नाच सुरु गर्ने परम्परा थियो । तर वर्तमान समय नकबहिलबाटमात्र नाच निकाल्ने र नकबहिल, मंगलबजार मूलचोक र कार्तिक डबलीमा मात्र प्रदर्शन गर्ने गरिएको छ ।

पौराणिक कथन अनुसार ललितपुरलाई संरक्षण दिने देवतालाई खुसी पार्न र आफ्नो रक्षा गर्न अष्टमातृकाको पूजा गर्दै नाच निकाल्ने गरिएको हो । हाल ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो नाचलाई निरन्तरता दिइँदै आएको छ ।

फोटो ग्यालरी : अष्टमातृका गण नाच फोटो फिचर
Categorized in संस्कृति