हरिभवनलाई वागदरवार प्रमाणित गरी देखाउन मेयर शाक्यको चुनौती
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष १५, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको हरिभवनलाई बागदरवार हो भनी प्रमाणित गरी देखाउन चुनौती दिनुभएको छ ।
भूकम्पले क्षतिग्रस्त हरिभवनलाई पुनर्निर्माण गर्न खोज्दा अनावश्यक विवाद निकाली मुद्दा हाल्ने काम हुँदा काममा समस्या हुन गएको मेयर शाक्यले भने ।
उहाँले राम्रो काम गरिरहेको अवस्थामा पनि अवरोध गर्न पाइयो वा व्यवधान खडा गर्न सकियो भने आफू अघि बढ्न सकिन्छ कि भन्ने प्रवृत्ति हावी हुने गरेकाले समस्या भएको भन्दै त्यस्तो गलत मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।
‘बागदरवार बेच्ने सुशिल संसेर जबरा पनि जिउँदै छन्, बागदरवार प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै छन् । तर, बागदरबार भत्काउने मेयरलाई कारबाही गर्नुपर्छ भनेर मुद्दा हालिएको छ’ शाक्यले दुखेसो पोखे ।
उहाँले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसहमत ढंगले गर्दै आएको र कुनै पनि निर्णय विवादित नबनेको पनि दावी गर्नुभयो ।
उहाँले खिन्नता पोख्दै भन्नुभयो, ‘जनताबाट समर्थन छ, बजेटको समस्या छैन । तर, कहिले अख्तियार त कहिले अदालत गुहार्र्दा प्रतिवद्धता अनुसार काम गर्न ढिलाई भएको छ ।’
संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको दावी समेत कामपा प्रमुख शाक्यले गर्नुभयो ।
आज काठमाडौं महानगरपालिकाको ३१ वडा कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि आफ्नो कार्यकाल स्वर्णयुग भएको दावी गर्नुभएको हो ।
उहाँले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–पर्वलाई जिवन्त राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको पनि बताउनुभयो । सो क्रममा कुमारी जात्रालाई निरन्तरता दिनका लागि पाँच करोडको अक्षयकोष स्थापना गरेको पनि स्मरण गराउनुभयो ।
अहिलेसम्म निर्माण भएका वडा कार्यालय भवनहरु मेयर वा वडाध्यक्षको नभएर स्थानीय जनताकै भएको समेत शाक्यले भने ।
काठमाडौँ महानगरपालिकामा निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले मोनोरेल लगायतका केही प्रतिवद्धताका काम अघि बढाउन नसकेको स्वीकार गर्नुभयो ।
Categorized in स्थानीय