भिक्षु धम्मालोकको चित्र अंकित चाँदिको सिक्का निष्काशन
SamacharDesk – सोसियल ब्युरो | २०७५ कार्तिक १०, शनिबार

नयाँ वर्ष नेपाल सम्वत ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदिको सिक्का निष्कासन भएको छ । भिन्तुना गुथिले चाँदिको सिक्का निष्कासनलाई निरन्तरता दिँदै यस वर्ष भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित सिक्का निष्कासन गरेको हो ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गुथिले उक्त सिक्काको विमोचन गर्यो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धम्ममुर्ति महास्थवीरले सिक्काको विमोचन गर्नुभयो । आनन्दकुटी विहारका का.वा. अध्यक्ष समेत रहेका भिक्षु धम्ममुर्तिले नेपालभाषा र वौद्ध धर्मको उत्थानमा भिक्षु धम्मालोकको योगदानको चर्चा गर्नुभयो । नेपालभाषामा लेखेको र वौद्ध धर्म प्रचार गरेको भन्दै राज्यले देश निकाला गर्दा समेत भिक्षु धम्मालोक भाषा र धर्मप्रति निरन्तर क्रियाशील रहेको समयलाई भिक्षु धम्ममुर्तिले उक्त कार्यक्रममा स्मरण गर्नुभयो ।
सोही कार्यक्रममा वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो । तर शुक्रबारै मात्र नेता तुलाधरलाई मस्तिष्कघात भई अस्पताल भर्ना हुनुभएको कारण उहाँ उपस्थित हुनसक्नु भएन । उनलाई प्रदान गर्न तयार गरिएको सम्मान पत्र भने कार्यक्रममा वाचन गरेर सुनाइएको थियो । र उक्त सम्मान पत्र तुलाधरको घरमै गएर उनलाई प्रदान गरिने पनि जानकारी कार्यक्रममा दिइयो ।
भिन्तुना गुथिले ने.सं. ११२५ देखि निरन्तर रुपमा नेपाल सम्वतको नयाँ वर्षको अवसरमा नेपालभाषाको उत्थानमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुको चित्र अंकित चाँदिको सिक्का निष्काशन गर्दै आएको छ । यस वर्ष गुथिको चौधौं सिक्का निष्कासन भएको हो । यो सिक्का ११३९ वटा मात्रै निष्कासन हुने जानकारी गुथिका पूर्व अध्यक्ष विद्यासागर तुलाधरले जानकारी दिनुभयो । ‘जति वर्ष हो, हामी त्यतिवटै सिक्का निष्काशन गर्ने गर्छौं । पहिलो पटक ने.सं ११२५ मा ११२५ वटै सिक्का निष्कासन गरिएको थियो भने यसपालि ने.सं. ११३९ को अवसरमा ११३९ वटै सिक्का निष्कासन हुनेछ ’ तुलाधरको भनाई थियो ।
गुथिका अध्यक्ष उपेन्द्रकाजी शाक्यले गुथिका गतिविधिबारेमा जानकारी दिनुभयो । गुथिले वर्षेनी नेपालभाषा सेवीको चित्र अंकित चाँदिको सिक्का निष्कासन गर्नुका साथै इन्द्रजात्राको दिनमा असनमा समयबजि प्रदर्शनी, सेतो मच्छिन्द्रनाथको रथ असनमा ल्याउँदा यःमरि छर्नुका साथै रथमा ध्वजा चढाउने र पाहांचः¥हेको समयमा चतांमरि छर्ने लगायतका सांस्कृतिक गतिविधिको साथमा समय समयमा सांगितिक कार्यक्रम वसन्त उत्सवलाई पनि निरन्तरता दिँदै आएको छ ।
Categorized in समाज