arin enterprises

नेपाली म्युजिक भिडियो अवार्डको चौंथो संस्करणको तयारी शुरु

SamacharDesk – बिराज | २०७७ पौष २१, मंगलबार

कोरोना भाइरस (कोभिड - १९) महामारीका कारण ठप्प रहेको मनोरञ्जन क्षेत्रले अहिले विस्तारै गति लिन खाेजिरहेकाे छ । नेपाली फिल्म र गीतसंगीत क्षेत्रलाई गति दिँदै अहिले विस्तारै विभिन्न कार्यक्रमहरु घोषणा हुन थालेका छन् ।

यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सफलताका साथ पुरा गरिसकेको आयोजक संगिक्षा फिल्म्सले चौथो संस्करणको अवार्ड कार्यक्रमकाे घोषणा गरेको छ ।

सामाजिक सञ्जालमार्फत अवार्डकाे घाेषणा गर्दै संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले वि.सं. २०७८ नयाँ वर्षको अवसरमा कार्यक्रमकाे आयोजना हुने बताए ।

केसीले सन् २०२१ मा चौथो संस्करण हुने जानकारी सहित गीत दर्ताकाे लागि फारम खुलेकाे समेत जनाएका छन् । उनले सन् २०२१ मै अवार्ड हुने बताएपनि मिति र स्थान भने केहि समय पश्चात मात्र जानकारी गराउने बताएका छन् । 

औपचारिक कार्यक्रम गरेर नै स्थान र मितिको बारेमा जानकारी दिने केसीकाे भनाइ हाे ।

यसअघि युएईको अबुधाबी र दुबईमा क्रमशः पहिलो र दोस्रो संस्करण सम्पन्न गरेको अवार्डको तेस्रो संस्करण ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा गरिएको थियो ।

अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने केसीले बताए । सो अवार्डमा नेपालभाषाका म्युजिक भिडियोबीच अलग्गै प्रतिस्पर्धा हुने पनि के.सी.ले जानकारी गराए ।

Categorized in पेजथ्री