arin enterprises

‘बन्दाबन्दीमा नृत्य निर्देशकले न्यूनतम पारिश्रमिकसमेत पाएनन्’

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २५, शनिबार

देशमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरु भइरहन्छ । जुनै कार्यक्रम होस्, राज्य स्तरबाट गरिने ठुलठुला कार्यक्रमको भव्य उद्घाटन समारोह हुन्छ, भव्य समापन समारोह गरिन्छ । लाखौं, अझ भनौं अचेल त करोडौं खर्च गरेर आयोजना गरिने यस्ता कार्यक्रममा साँस्कृतिक प्रस्तुति अनिवार्य हुन्छ ।

नेपालको जातीय, साँस्कृतिक, भाषिक विविधताको झल्को दिने यस किसिमका साँस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने कलाकारलाई देशको गहना भन्ने गरिन्छ । नृत्य कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत मनोरन्जनमात्र दिँदैनन्, देशकै चिनारी प्रस्तुत गर्ने गर्दछन् ।

आफ्नो अनेक दुःख लुकाउँदै सबैको मनोरन्जन गर्ने र देशलाई चिनाउने काम गरिरहे पनि अप्ठ्यारो अवस्थामा कतैबाट सहानभुतिका एक शब्द समेत सुन्न नपाएको गुनासो नृत्य निर्देशकहरुले गरेका छन् ।

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको चौथो वार्षिक साधारण सभाका वक्ता नृत्य निर्देशकहरुले देशलाई चिनाउने काम गर्ने कलाकारहरुलाई बन्दाबन्दीको समय आउँदा कसैले नचिनेको अनुभव भएको बताए ।

‘कसैले खाए नखाएको एक प्रश्न सोध्ने मानवता पनि हो, यो बन्दाबन्दीको समयमा हामीले भोग्यौं,’ नृत्य निर्देशक बुद्ध लामाले भन्नुभयो, ‘बन्दाबन्दीमा काम ठप्प भएको समयमा कसैले फोन गरेर हालखबरसम्म सोधेन, हाम्रो स्थिती यस्तो छ ।’

संघको काठमाडौं शाखा अध्यक्ष समेत रहेका लामाले आफुले काम गर्दै आएका विद्यालय वा संस्थाले न्यूनतम पारिश्रमिक समेत नदिँदा पनि कतैबाट केही पहल नभएको दुखेसो पोख्नुभयो ।

कार्यक्रममा वरिष्ठ नृत्य गुरु पूर्ण नेपालीले समाजमा आफ्नो उपस्थिती प्रभावकारी बनाउन सबै संगठित भई एकसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘अहिले देशमा पार्टी फुट्दाको स्थिती हेर्नुस्, अब हामी बलियो बन्न जुट्ने कि फुट्ने आफैं निर्णय गर्नुहोस्’ नृत्य गुरु नेपालीले भन्नुभयो ।

विद्यालयहरुमा नृत्य विषय र नृत्य गुरु भने चाहिने तर पाठ्यक्रम विकास गर्नमा भने कसैले विचार नपुयाएको नेपालीले भन्नुभयो ।

संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकहरुको समस्या समाधान गर्न र क्षेत्रको वृहत्तर हितको लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघको भक्तपुर शाखाका अध्यक्ष दिपक बज्राचार्य, ललितपुर शाखाकी सचिव मिनर्वा शर्मा राजाेपाध्याय, काभ्रे शाखाका अध्यक्ष मोहन तौजलेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकार नन्दिताराज वैद्य र समाजसेवी हसना शाक्यलाई मानार्थ सदस्यता दिइएको थियो भने संघको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन शाखाको नयाँ चयन भएको कार्यसमितिलाई खादा ओढाई शुभकामना दिइएको थियो ।

आज सम्पन्न सभाले संघका महासचिव निरिपध्व खत्रीले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा सोती शर्माको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082