चेक बाउन्स हुँदा २ करोड जरिवानासहित कैद
SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

बैंक खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक काटेर झुक्याउन खोज्दा २ करोड बढि जरिवानासहित जेलमा थुनिनु परेको छ ।
बैकिङ कसुर मुद्दामा चितवनको भरतपुरका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिकाका २९ वर्षीय विष्णु अंगाईलाई पक्राउ गरिएको हो ।
बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा कैद र जरिवानाको फैसला भई फरार रहेका तिनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
राम बहादुरलाई आइतबार चितवनको खैरेनीबाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले कैद र जरिवानाको फैसला गरेको थियो ।
उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैदसहित २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
त्यस्तै सुवासलाई १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैदको साथमा १० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
Categorized in अपराध